वीरगञ्ज । शिक्षाको मर्यादित केन्द्र मानिने मधेश विश्वविद्यालयमा कार्यरत एक कर्मचारीले छात्रामाथि अनैतिक दबाब सिर्जना गरेको आरोपमा पक्राउ परेका छन्। उक्त घटनाले शैक्षिक वातावरणमाथि गम्भीर प्रश्न उठाएको छ।
प्रहरीका अनुसार विश्वविद्यालयका कर्मचारी राजु गद्दीले एक छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिँदै अस्वीकार गरेमा परीक्षामा अंक घटाइदिने तथा स्वीकारेमा विभिन्न सुविधा दिलाइदिने प्रलोभन देखाएका थिए। पीडित छात्राले दिएको उजुरीका आधारमा घटनाको अनुसन्धान अघि बढाइएको हो।
पीडितका भनाइ अनुसार प्रारम्भमा सहयोगको बहानामा सम्पर्क बढाइएको थियो। पछि फोन तथा सामाजिक सञ्जालमार्फत निरन्तर अनुपयुक्त सन्देश पठाउँदै मानसिक दबाब सिर्जना गरिएको बताइएको छ। प्रस्ताव अस्वीकार गरेपछि भने शैक्षिक भविष्य नै प्रभावित पार्ने चेतावनी दिइएको आरोप छ।
जिल्ला प्रशासन कार्यालय पर्सामा चैत १४ गते उजुरी दर्ता भएपछि आरोपित फरार भएका थिए। खोजतलासका क्रममा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरी प्रवक्ता डीएसपी हरि बहादुर बस्नेतले आरोपितमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र घटनाको विस्तृत अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
यसबीच, उक्त कर्मचारीबाट अन्य छात्राहरू पनि पीडित भएको हुन सक्ने आशंका व्यक्त गरिएको छ। घटनापछि विश्वविद्यालयजस्तो संवेदनशील स्थानमा विद्यार्थीको सुरक्षा, मर्यादा र अधिकार सुनिश्चित गर्न कडा निगरानी तथा प्रभावकारी संयन्त्र आवश्यक रहेको आवाज उठ्न थालेको छ।