वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वाटर पर्साको आयोजनामा सञ्चालन गरिएको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम” सम्पन्न भएको छ।
वीरगञ्ज महानगरपालिका–१४ स्थित गण मुख्यालयमा मंसिर २५ गतेदेखि सुरु भएको तालिम चैत १६ गते समापन गरिएको हो। समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहालको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्री, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय पर्साका उप–अनुसन्धान निर्देशक सन्तोष ढुङ्गेल, श्री जंग गणका गणपति लोकेन्द्र कार्की, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्की, वडा नं. १४ का अध्यक्ष महबुब एलाही अंसारी लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
तालिममा सहभागी २९ जना स्वयंसेवकलाई प्रमुख जिल्ला अधिकारी दाहालले प्रमाणपत्र प्रदान गरेका थिए। समापन कार्यक्रममा करिब ८० देखि ९० जनाको उपस्थिति रहेको आयोजकले जनाएको छ।
स्थानीय स्तरमा विपद् व्यवस्थापन क्षमता सुदृढ बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिमले आकस्मिक अवस्थाहरूमा उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।