काठमाण्डाै । भोलि बस्ने प्रतिनिधिसभाको पहिलो बैठकका एजेन्डा तय गर्न सर्वदलीय बैठक चलिरहेको छ । सिंहदरबारमा रहेको सङ्घीय संसद् सचिवालयमा भइरहेको सर्वदलीय बैठकको अध्यक्षता संसदका जेष्ठ सदस्य अर्जुननरसिंह केसीले गर्नुभएको छ ।
सङ्घीय संसद् सचिवालयको आयोजनामा बसेको बैठकमा सरकारको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम सहभागी हुनुहुन्छ । सर्वदलीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) बाट ५, नेपाली कांग्रेस र नेकपा एमालेबाट २/२ जना तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टी बाट १/१ जना उपस्थित भएका छन् ।
यसैबीच फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावपछिको पहिलो संसद् अधिवेशन भोलि दिउँसो २ बजेदेखि शुरू हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिशमा सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो ।
प्रतिनिधिसभाको बैठक सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा बस्नेछ । १८ वर्षपछि सिंहदरबारमा नै अधिवेशन बस्न लागेको हो ।
झन्डै दुईतिहाइ बहुमत प्राप्त गरेको रास्वपासहित प्रतिनिधिसभामा ६ वटा दल र १ स्वतन्त्र गरी २७५ सांसद छन् । यस अधिवेशनको मुख्य कार्यसूचीमा सभामुख र उपसभामुखको चुनाव रहनेछ । यी दुई पद फरक दल र फरक लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।
यो बजेट अधिवेशन हो । साथै यस अधिवेशनमा सङ्घीय निजामती ऐन, प्रहरी ऐन र विद्यालय शिक्षालगायत महत्त्वपूर्ण विधेयक पारित गर्ने दायित्व पनि संसद्सामु रहेको छ । संसद् सचिवालयले भौतिक, सुरक्षा र प्राविधिक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।