काठमाडौं । काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुहरूलाई अनावश्यक दुःख दिने ४८ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार नयाँ बसपार्क, कलंकी र बल्खु क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार ती व्यक्तिहरू टिकट काउन्टरहरूमा बसेर आफूहरूले तोकेको सवारीसाधनमै यात्रा गर्न दबाब दिने, यात्रुहरूलाई जबर्जस्ती तान्ने तथा अभद्र व्यवहार गर्नेजस्ता गतिविधिमा संलग्न थिए। यस्तो गुनासो बढेपछि प्रहरी सक्रिय भएको हो।
परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार गोंगबुस्थित नयाँ बसपार्कबाट पाँचजना, कलंकीबाट २४ जना र बल्खुबाट १९ जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।