काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको ‘बालेन सरकार’ ले आगामी जेठ २०८४ मा प्रदेश तथा स्थानीय तहको निर्वाचन एकै चरणमा सम्पन्न गर्ने गरी तयारी तीव्र बनाएको जनाएको छ। यसका लागि नीति, कानुनी तथा प्राविधिक पक्षमा समन्वय गर्दै आवश्यक गृहकार्य अघि बढाइएको छ।
सरकारले संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको व्यवस्था गर्ने, वडासदस्यको संख्या पुनरावलोकन गर्ने तथा स्थानीय तहको संरचनामा सुधार गर्ने विषयलाई प्राथमिकतामा राखेको छ। यससम्बन्धी प्रस्तावहरूबारे विभिन्न राजनीतिक दल तथा सरोकारवालासँग छलफल जारी रहेको जनाइएको छ।
निर्वाचन प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन कार्यदल गठन गरिएको छ। उक्त कार्यदलले संवैधानिक तथा कानुनी सुधारका विषयमा सुझाव संकलन गर्दै सहमति निर्माण गर्ने प्रयास गरिरहेको बताइएको छ।
यद्यपि, विभिन्न राजनीतिक दलहरूबीच पूर्ण सहमति जुट्न नसक्दा केही प्रस्तावहरू अझै अनिर्णीत रहेका छन्। सहमति निर्माणका लागि छलफल निरन्तर जारी रहेको सरकार पक्षको भनाइ छ।
निर्वाचन आयोगसँग आवश्यक समन्वय गर्दै तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता सरकारको रहेको छ।