काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी, सरकार र संसद्का तीनवटै मोर्चामा नेतृत्व स्थापित गरेको छ ।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुई तिहाइनजिक सिट जितेको रास्वपाले अब यी तीनै मोर्चालाई प्रभावकारी ढंगले अगाडि बढाउने बाटो खोलेको हो । रास्वपाका तर्फबाट सरकारको नेतृत्व बालेन्द्र (बालेन) शाहले सम्हालेका छन्, संसद्को नेतृत्व डोलप्रसाद अर्यालले गरेका छन् भने पार्टीको कमान्ड रवि लामिछानेको काँधमा छ ।
देश हाक्ने जिम्मा बालेनको
युवा नेता शाहलाई देश हाक्ने जिम्मा दिइएको छ । शाह संविधानको धारा ७६ (१) अनुसार चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका थिए । सोही दिन पदभार ग्रहण गरी उनले १५ सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए । हाल शाह प्रधानमन्त्री तथा रक्षा, डा. स्वर्णिम वाग्ले अर्थ, शिशिर खनाल परराष्ट्र, विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ र सुधन गुरुङ गृहमन्त्री बनेका छन् ।
यसैगरी, सुनिल लम्साल भौतिक पूर्वाधार तथा यातायात, सोविता गौतम कानुन, न्याय तथा संसदीय मामिला, सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, प्रतिभा रावल संघीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री छन् ।
यस्तै, निता मेहता स्वास्थ्य तथा जनसंख्या, खानेपानी, शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद, खडकराज पौडेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, डा. विक्रम तिमिल्सिना सूचना तथा सञ्चार, गीता चौधरी कृषि पशुपन्छी विकास, वन तथा वातावरण मन्त्री बनेका छन् ।
दीपक कुमार साह भने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री नियुक्त भएका थिए । उद्योगमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री शाहले आफैँसँग राखेका थिए । तर, श्रममन्त्री साह पदीय दुरुपयोगको आरोपमा बर्खास्तमा परेपछि चैत २४ गते रामजी यादव नियुक्त भए । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरी कुमारी यादवलाई जिम्मेवारी दिइएको छ । १६ सदस्यीय मन्त्रिपरिषदमा रवि र बालेन पक्षका बराबर (५०/५० प्रतिशत) सहभागिता छ ।
पुस १३ गते रास्वपाका सभापति रवि लामिछानेसँग सातबुँदे सहमति गर्दै शाह वरिष्ठ नेता बनेका थिए । उक्त सहमतिको बुँदा नं ४ मा रवि पार्टी सभापति र बालेन भावी प्रधानमन्त्री बन्ने उल्लेख थियो । यही पूर्वसहमतिअनुसार उनले पुस ४ गते काठमाडौँ महानगरपालिका प्रमुख पदबाट राजीनामा दिएर रास्वपा प्रवेश गरेका थिए । चैत १२ गते रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले शाहलाई दलको नेतामा चयन गरेको थियो ।
पार्टी हाक्ने जिम्मा रविलाई
पार्टी स्थापनाको तीन वर्षमै १८२ सिट जितेर ठूलो दल बनेको रास्वपाको नेतृत्व रवि लामिछानेले सम्हाल्नेछन् । भदौको अन्त्यतिर पहिलो महाधिवेशन गर्ने तयारीमा जुटेका उनी संगठन विस्तार, प्रदेश, जिल्ला, पालिका र वडास्तरको अधिवेशनलाई तीव्रता दिने योजनामा छन् ।
पार्टीको अन्तरिम विधानअनुसार १२९ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ । यसमा एक सभापतिसहित एक सय जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् भने सभापतिले मनोनित गरेका २२ र सात प्रदेशका सभापति सदस्य रहनेछन् ।
पार्टी एकताअगाडि रास्वपामा नौ सदस्यीय पदाधिकारी थियो । जसमा रवि सभापति, उपसभापतिमा डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्ले थिए । महामन्त्री रहेका डा. मुकुल ढकाललाई पार्टीले कारबाही गरेपछि केही समय उक्त पद रिक्त रह्यो । सहमहामन्त्रीमा कवीन्द्र बुर्लाकोटी, विपिन कुमार आचार्य र सुमना श्रेष्ठ थिए । लिमा अधिकारी कोषाध्यक्ष र वशुमाया तामाङ सहकोषाध्यक्ष थिइन् । पछि पार्टीले बुर्लाकोटीलाई महामन्त्री बनाउने निर्णय गर्यो ।
यद्यपि, पार्टी एकतामा विवेकशील साझा, बालेन समूह, जेनजी समूहलगायत टिम सहभागी भएपछि पदाधिकारीको संख्या थप गर्ने निर्णय भए पनि कार्यान्वयन भएको छैन । उपसभापति अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएकाले उक्त पद रिक्त छ । सहमहामन्त्री सुमना श्रेष्ठले राजीनामा दिएका कारण उक्त पद पनि खाली नै छ ।
रास्वपाको पुसमा बसेको केन्द्रीय समितिको निर्णयअनुसार एकता प्रक्रियामा आएकालाई भागबण्डा पुर्याउन दुई उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री र एक सहप्रवक्ता थप्ने निर्णय गरिएको थियो । रास्वपाको पछिल्लो अपडेटअनुसार हाल पदाधिकारीमा सभापति रवि, वरिष्ठ नेता बालेन, उपसभापतिहरू अर्याल, वाग्ले, महामन्त्री बुर्लाकोटी, सहमहामन्त्री आचार्य, कोषाध्यक्ष अधिकारी र सहकोषाध्यक्ष तामाङ रहेका छन् ।
सभापति रविलाई यी पदाधिकारीसहित एकता प्रक्रियामा आएकाले पार्टी सञ्चालनमा साथ दिनेछन् । सबै समूहलाई समेटेर रास्वपाले केन्द्रीय समिति ९३ सदस्यीय बनाएको छ ।
कानुन बनाउने मोर्चाको जिम्मा अर्याललाई
राज्यका प्रमुख अंगमध्ये प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल (डीपी अर्याल) निर्वाचित भएका छन् । पार्टीको नेतृत्व तहमा रहेर सरकारको गृहमन्त्री बन्न चाहेका अर्याललाई पार्टीले सभामुख बनाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार अर्याल चैत २२ गते निर्विरोध निर्वाचित भएका थिए । कानुन निर्माणको महत्त्वपूर्ण थलो मानिने संसदीय मोर्चाको नेतृत्व अर्यालले सम्हालिसकेका छन् । यसैगरी, रास्वपाले पार्टीका तर्फबाट संसद्मा महत्त्वपूर्ण भूमिका खेल्ने संसदीय दलको पदाधिकारी विस्तार गरेको छ ।
विधानको धारा ६६ (१) बमोजिम रास्वपाले संसदीय दलको पदाधिकारी विस्तार गरेको छ, यसअन्तर्गत प्रधानमन्त्री शाह संसदीय दलको नेता रहेका छन् ।
बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सचिवालय सदस्य गणेश पराजुलीलाई दलको उपनेता चयन गरेको छ । प्रमुख सचेतकमा कवीन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताल चयन भएका छन् । विधानको धारा ६६ (२) मा दलको नेता, उपनेता, प्रमुख सचेतक, सचेतक र कोषाध्यक्षसहित पाँच सदस्यीय पदाधिकारी रहने व्यवस्था भए पनि हालसम्म कोषाध्यक्ष चयन गरिएको छैन ।परियार विवेकशील साझाबाट आएका हुन् ।