मकवानपुर । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले उत्कृष्ट कार्यसम्पादनका आधारमा प्रहरी निरीक्षक दीपक थापालाई २०८२ साल चैत महिनाको “महिनाको उत्कृष्ट प्रहरी” (Best Police of the Month) घोषणा गरेको छ।
इलाका प्रहरी कार्यालय मनहरीमा कार्यरत निरीक्षक थापाले आफ्नो जिम्मेवारीलाई उच्च पेशागत निष्ठा, इमान्दारिता र सक्रियताका साथ निर्वाह गर्दै अपराध नियन्त्रण, लागूऔषध विरुद्धको अभियान तथा सामुदायिक शान्ति सुरक्षामा उल्लेखनीय योगदान पुर्याएको कार्यालयले जनाएको छ।
विशेषगरी लागूऔषध नियन्त्रणमा उनले खेलेको भूमिका प्रशंसनीय रहेको बताइएको छ। नियमित गस्ती, सूचना संकलन तथा समन्वयमार्फत अवैध गतिविधि नियन्त्रण गर्दै स्थानीय बासिन्दामा सुरक्षा अनुभूति दिलाउन उनले महत्वपूर्ण योगदान दिएका छन्।
यसैगरी, सडक सुरक्षामा जनचेतना अभिवृद्धि, ट्राफिक नियम पालना गराउने अभियान तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरी समुदायसँग नजिकिएर काम गरेको मूल्यांकनका आधारमा उनलाई सम्मान गरिएको हो।
सम्मान प्राप्तिपछि प्रतिक्रिया दिँदै निरीक्षक दीपक थापाले भने,“प्रहरी सेवामा रहँदा नागरिकको विश्वास जित्नु नै सबैभन्दा ठूलो उपलब्धि हो। मैले पाएको यो सम्मान व्यक्तिगत मात्र नभई सम्पूर्ण टोलीको संयुक्त प्रयासको परिणाम हो। आगामी दिनमा अझ जिम्मेवार, निष्पक्ष र सेवा–मुखी भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।”
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षकले थापाको कार्यशैली उदाहरणीय रहेको उल्लेख गर्दै अन्य प्रहरी कर्मचारीलाई पनि यस्तै समर्पण र जिम्मेवारीका साथ काम गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।
स्थानीयवासीले पनि निरीक्षक थापाको कार्यप्रति सन्तुष्टि जनाउँदै शान्ति सुरक्षा कायम गर्न उनको सक्रियता प्रशंसनीय रहेको बताएका छन्।