सर्लाही । प्रतिनिधि सभा सदस्य सरिता महतोले सर्लाहीको रामवन क्षेत्र नं. ४ मा पुगेर स्थानीय किसानहरूसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरेकी छन्। तरकारी उत्पादनमा अग्रणी मानिने यस क्षेत्रमा किसानहरूले भोगिरहेका समस्या र चुनौतीबारे उनले जानकारी लिएकी हुन्।
स्थानीय किसानहरूका अनुसार वार्षिक ४०० क्विन्टलभन्दा बढी भिन्डी उत्पादन हुने भए पनि मल अभाव, सिँचाइको कमी र कृषि तालिम नपाउँदा उत्पादन विस्तारमा कठिनाइ भइरहेको छ। साथै, व्यवस्थित बजारीकरण नहुँदा उत्पादनको उचित मूल्य नपाएको गुनासो किसानहरूले गरेका छन्।
सांसद महतोले देशमा अझै ठूलो मात्रामा तरकारी आयात भइरहेका बेला स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याइन्। उनले किसानमैत्री नीति लागू गर्दै उत्पादन र बजारीकरणलाई सँगसँगै अगाडि बढाउनुपर्नेमा जोड दिइन्।
उनले किसानलाई सिधै बजारसँग जोड्ने व्यवस्था, मल र सिँचाइमा सहज पहुँच, कृषि तालिमको विस्तार तथा स्रोत–साधनको न्यायपूर्ण वितरण गर्नुपर्ने आवश्यकता औँल्याइन्।
सांसद महतोले किसानलाई उचित मूल्य र सम्मान सुनिश्चित गर्न सके मात्र कृषि क्षेत्र सुदृढ भई देश आत्मनिर्भर बन्ने विश्वास व्यक्त गरिन्।