वीरगञ्ज । सरकारी नियम र कानुनलाई हातमा लिँदै पर्साको छिपहरमाई गाउँपालिकामा एक कर्मचारीले निकृष्ट मनपरी गरिरहेको खुलासा भएको छ। स्वास्थ्य शाखा प्रमुख सनी कुमार (कर्मचारी संकेत नं. १९६६२१) ले मधेश प्रदेश सरकारको सरुवा आदेशलाई रद्दीको टोकरीमा मिल्काउँदै 'गुन्डागर्दी' शैलीमा पुरानै पालिका कब्जा गरेर बसेका छन्।
सनी कुमारका दाजु मौजिलाल साह छिपहरमाई गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष हुन्। दाजुको राजनीतिक शक्ति र पहुँचको आडमा सनीले आफूलाई कानुनभन्दा माथि ठानेको स्थानीयको आरोप छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुरधामले मिति २०८१/०९/२६ मा उनलाई बाराको महागढीमाई नगरपालिकामा सरुवा गर्ने सचिवस्तरीय निर्णय गरे पनि उनले त्यसलाई लत्याउँदै आएका छन्।
स्वास्थ्य शाखा प्रमुखको कुर्सी नछाड्नुका पछाडि ठूलो आर्थिक चलखेल र भ्रष्टाचार लुकेको स्रोतको दाबी छ। उनीमाथि परेको औपचारिक उजुरीमा उल्लेख भएअनुसार, सनी कुमारले स्वास्थ्य क्षेत्रको बजेटमा ब्रम्हलुट मच्चाउने, सेवाग्राहीलाई सास्ती दिने र कर्मचारी प्रशासनमा आफ्नो एकलौटी हैकम चलाउने गरेका छन् । सरुवा भएको वर्ष बित्दा पनि नयाँ कार्यस्थलमा हाजिर नहुनुले उनको नियत 'सेवा' भन्दा पनि 'मेवा' (आर्थिक अनियमितता) मा केन्द्रित रहेको प्रष्ट पार्छ।
एक कर्मचारीले खुलेआम सरकारी आदेशको अवज्ञा गर्दा पनि सम्बन्धित निकाय मौन बस्नुले सेटिङको आशंकालाई बल पुर्याएको छ। "हाम्रो पालिकामा कर्मचारी होइन, एकजना माफियाको राज चलिरहेको छ," एक स्थानीय युवाले आक्रोश पोखे। "वडाध्यक्षको भाइ भएकै भरमा राज्यको निर्णय मान्दिनँ भन्नु अराजकताको पराकाष्ठा हो।"
स्थानीय बासिन्दा र सचेत युवाहरूले प्रशासनलाई ठाडो चुनौती दिएका छन्। २४ घण्टाभित्र सनी कुमारलाई महागढीमाई नगरपालिकामा हाजिर नगराइए र छिपहरमाईको स्वास्थ्य शाखाबाट नहटाइए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
शक्तिको दुरुपयोग गरेर सरकारी ढुकुटी रित्याउने यस्ता 'भाइ-भारदार' हरूलाई समयमै कारबाही नगरे छिपहरमाईमा जनविद्रोह हुने स्थिति सिर्जना भएको छ। प्रशासनले यो 'नातावाद र कृपावाद' को जालो कहिले तोड्छ? त्यो भने हेर्न बाँकी छ।