धनगढी। सुदूरपश्चिम प्रदेशमा अस्पताल स्तरोन्नतिको योजना नै राजनीतिक विवादको चपेटामा परेको छ। लम्कीचुहा नगरपालिकास्थित लम्की अस्पताललाई १५ शय्याबाट ५० शय्याको प्रादेशिक अस्पताल बनाउने योजना प्रदेश सरकार र स्थानीय तहबीचको असमझदारीका कारण अन्योलमा परेको हो।
मुख्यमन्त्री कमलबहादुर शाह र नगर प्रमुख सुशीला शाहीबीच लामो समयदेखि जारी मतभेदले अस्पतालका लागि विनियोजित करिब साढे चार करोड रुपैयाँ बजेट उपयोग हुन नसक्ने जोखिम बढेको देखिएको छ। प्रदेश सरकारका अनुसार प्रक्रिया अगाडि बढाइएको भए पनि स्थानीय तहसँग सहकार्य नहुँदा काम अघि बढ्न सकेको छैन।
नगर प्रमुख शाहीले भने प्रदेश सरकारले स्थानीय सरकारलाई बेवास्ता गर्दै एकतर्फी निर्णय गर्न खोजेको आरोप लगाएकी छन्। उनका अनुसार कुनै औपचारिक पत्राचार नगरी कर्मचारीमार्फत अनौपचारिक रूपमा सम्झौता अघि बढाउन खोजिएको छ, जुन स्वीकार्य नहुने उनको भनाइ छ।
अस्पताल सञ्चालनका लागि नगरपालिकाले वर्षेनि करोडौँ रुपैयाँ खर्च गर्दै आएको उल्लेख गर्दै शाहीले प्रदेश सरकारले कर्मचारी व्यवस्थापन र अघिल्लो लगानीबारे स्पष्ट योजना नल्याएको गुनासो गरिन्। अझ प्रस्तावित सम्झौतामा बजेट अभाव हुँदा खर्च स्थानीय तहले नै व्यहोर्नुपर्ने व्यवस्था राखिएको भन्दै उनले आपत्ति जनाएकी छन्।
यता प्रदेश सरकार भने कानुनी प्रक्रिया अनुसार नै अस्पताल आफ्नो मातहत ल्याउने निर्णय गरिएको दाबी गर्दै आएको छ। मुख्यमन्त्री शाहले पूर्वनिर्णय र सिफारिसकै आधारमा काम अघि बढाइएको स्पष्ट पारेका छन्।
दुई तहबीचको यही तानातानले अस्पताल स्तरोन्नति योजना नै प्रभावित हुँदा स्थानीय नागरिक भने प्रत्यक्ष मारमा परेका छन्। विशेषज्ञ सेवा पाउने आशामा रहेका सर्वसाधारण अहिले अन्योल र निराशामा परेका छन्।