काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले वर्तमान सरकारको सुकुम्बासी बस्ती व्यवस्थापनको शैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले भिडियो सन्देशमार्फत सरकारको पछिल्लो कदमलाई ‘इगोबाट प्रेरित निर्णय’ भन्दै आलोचना गरेका हुन्।
साम्पाङले विगतमा काठमाडौँ महानगरपालिकाको नेतृत्वमा रहँदा फोहोर व्यवस्थापनमा अपेक्षित सफलता हासिल गर्न नसकेको प्रसंग उल्लेख गर्दै अहिले सुकुम्बासी बस्ती हटाउने कार्यलाई गलत दृष्टिकोणबाट अघि बढाइएको आरोप लगाए। उनका अनुसार सरकार सुकुम्बासी समुदायको वास्तविक समस्या बुझ्नुभन्दा उनीहरूलाई बोझका रूपमा हेर्ने प्रवृत्तिमा लागेको छ।
उनले चुनावका बेला जनताले दिएको समर्थनप्रति पनि कटाक्ष गर्दै अहिलेको परिस्थितिमा सर्वसाधारण निराश बनेको टिप्पणी गरे। देशका विभिन्न स्थानमा सुकुम्बासी बस्ती हटाउने अभियान तीव्र हुन सक्ने संकेत गर्दै उनले यसप्रति सतर्क रहन नागरिकलाई आग्रह गरे।
साम्पाङले सुकुम्बासीहरूको पुनःस्थापनाको विषयमा ठोस योजना नभएको दाबी गर्दै उनीहरूको पीडा र जीवनस्तरप्रति सरकार संवेदनशील हुनुपर्ने बताए। उनले सुरक्षाकर्मी परिचालन गरी बस्ती खाली गराउने कार्यले समस्या समाधानभन्दा झन् जटिल बन्ने चेतावनी पनि दिएका छन्।
उनले सरकारलाई सुकुम्बासी समस्या दीर्घकालीन रूपमा समाधान गर्न संवाद र सहकार्यको मार्ग अपनाउन सुझाव दिएका छन्।