वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले किर्ते जालसाजी प्रकरणमा एक जनालाई पक्राउ गरेको छ भने अन्य संलग्न व्यक्तिहरू फरार रहेको जनाएको छ। फरार अभियुक्तहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको प्रहरीले जानकारी दिएको छ।
पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका–४, मधवल निवासी विनोद कुमार चौरसिया किर्ते जालसाजीको आरोपमा सोमबार पक्राउ परेका हुन्।
प्रहरीका अनुसार, उनले सोही गाउँकी सुरसती देवीको जग्गा किर्ते गरी मालपोत कार्यालय पर्साबाट आफ्नो नाममा लालपुर्जा बनाएको आरोप लागेको छ। घटनाको अनुसन्धानका क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
यसै प्रकरणमा संलग्न रहेको आरोपमा विनोदका भाइ हरिकिशोर प्रसाद चौरसिया, लालबाबु चौरसिया र रामबाबु चौरसिया फरार रहेका छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका विनोद कुमार चौरसियालाई जिल्ला प्रहरी कार्यालय पर्साले अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।