काठमाडौं । कैलालीमा सम्झौताको नौ वर्षसम्म पुलको पिल्लरसमेत नउठाएको पप्पु–एडभेन्चर जेभी उल्टै अदालत गएको छ । धनगढी उपमहानगरपालिका– १७ पथरीस्थित शिवगंगा नदीमा पुल निर्माणको ठेक्का पाएको कम्पनीले इस्टिमेटअनुसार नै जग बनाएको दाबी गर्दै उच्च अदालत दिपालय महेन्द्रनगर इजलासमा गत वर्ष रिट दायर गरेपछि प्रक्रिया ठप्प छ । अदालतले हालै मध्यस्थकर्ता तोकेर ९० दिनभित्र जगको गुणस्तर जाँच गरी प्रतिवेदन दिन भनेको छ ।
कम्पनीले सम्झौताको करिब पाँच वर्षपछि मात्र पिल्लरको जग हालेको थियो । तर, सडक डिभिजन कार्यालय कञ्चनपुरले जाँच गर्दा पिल्लर इस्टिमेटअनुसार नबनेको ठहर गरेको थियो । सडक डिभिजनका प्रमुख डिभिजनल इन्जिनियर राजेशकुमार यादवका अनुसार नयाँ ठाउँमा जग हालेर पुल बनाउन निर्देशन दिइए पनि निर्माण कम्पनीले त्यसपछि काम नै गरेन । ‘अनुगमन गर्दा जग इस्टिमेटअनुसार नभएको पाइएपछि उक्त ठाउँबाट २५–३० मिटर यताउता पुल बनाउन केन्द्रले स्वीकृति दिएको थियो,’ यादवले भने, ‘तर निर्माण कम्पनी पछि काममै फर्केन ।’
डिभिजनले गत ४ वैशाखमा निर्माण कम्पनीसँग स्पष्टीकरण माग गरेको थियो । तर, मुद्दा अदालतमा विचाराधीन रहेकाले निर्णयमा अन्योल छ । डिभिजन कार्यालयका अनुसार निर्माण कम्पनीले हालसम्म गरेको कामको भुक्तानीबापत करिब चार करोड दाबी गरेकामा साढे दुई करोड रुपैयाँ भुक्तानी भइसकेको छ भने बाँकी करिब डेढ करोड रोकिएको छ ।
निर्माण कम्पनीको ‘काम नगर्ने नियत’ देखिएको भन्दै डिभिजन प्रमुख यादवले ठेक्का तोड्नुको विकल्प नरहेको बताए । अब अन्तिम निर्णय अदालतको फैसलाले तय गर्नेछ ।
‘निर्माण कम्पनीको काम नगर्ने नियत देखिएकाले ठेक्का तोड्नुको विकल्प छैन । स्पष्टीकरण सोधेर सबै विषय विभाग र मन्त्रालयलाई जानकारी गराएका छौँ,’ यादवले भने, ‘अदालतको फैसला कुर्ने वा ठेक्का तोड्ने माथिल्लो निकायले निर्णय गर्छ ।’
पथरी र वडा नम्बर १६ को रामपुर जोड्ने उक्त पुल निर्माणका लागि २७ असार ०७४ मा सम्झौता भए पनि अहिलेसम्म पिल्लरसमेत तयार भएको छैन । करिब चार वर्षअघि पिल्लर राख्नका लागि जग हालिएको भए पनि त्यसपछि निर्माण कम्पनी पप्पु–एडभेन्चर जेभी काममा फर्किएको छैन । सडक डिभिजन कार्यालय कञ्चनपुरका अनुसार १४ करोड २६ लाख रुपैयाँ लागतमा पुल निर्माण सम्झौता गरिएको थियो ।
स्थानीयलाई सास्ती उस्तै
पुल निर्माण ढिलाइ हुँदा स्थानीयले विशेष गरी बर्खामा ठुलो सास्ती खेपिरहेका छन् । वर्षायाममा शिवगंगा नदी उर्लिने भएकाले आवतजावत ठप्पजस्तै हुन्छ । पानी घटेका वेला मात्रै गोरुगाडामा पैसा तिरेर नदी पार गर्नुपर्ने अवस्था रहेको पथरीका स्थानीय बुझाउन थारूले बताए ।
अर्की स्थानीय बिस्नी चौधरीका अनुसार बर्खामा नदी तर्न नसकिने हुँदा जोखिम बढेको छ । नदीले बर्सेनि कटान गर्दै बस्ती नै जोखिममा पारिरहेको भन्दै उनले तटबन्धको समेत माग गरिन् ।
बर्खाबाहेक अरू वेला धेरै पानी नहुने उक्त नदीमा ओहोरदोहोर गर्न सहज होस् भनेर धनगढी उपमहानगरले ह्युमपाइप राखेको छ । त्यसले बर्खामा भने काम गर्दैन । अरू वेला पानीको सतह कम हुने यो नदी बर्खामा उर्लन्छ । स्थानीयका अनुसार बर्खामा पानीको सतह केही कम भएको वेला गोरुगाडामा पैसा तिरेर ओहोरदोहोर गर्नुपर्छ । पानीको सतह बढेको दिन ओहोरदोहोर नै बन्द हुने गरेको पथरीका स्थानीय बुझाउन थारूले बताए ।
पर्यटन र सेवा पहुँचमा असर
शिवगंगापारि जंगल क्षेत्र र त्यसपछि प्रसिद्ध बेहडाबाबा मन्दिर पर्छ । यो मन्दिर पुग्ने सबैभन्दा छोटो मार्ग यही भए पनि पुल नहुँदा पर्यटकले घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । धनगढी– १६ का अध्यक्ष रामलाल चौधरीका अनुसार पुल बनेमा स्थानीय बस्ती मात्र होइन, छिमेकी पालिकाका बासिन्दालाई पनि ठुलो राहत मिल्नेछ । ‘बिरामीलाई धनगढी लैजान निकै गाह्रो छ, पुल भए सहज हुन्थ्यो,’ उनले भने ।