धनगढी । वीरेन्द्र भट्ट ले मदिरा सेवन गरी सवारी चलाउँदा दुर्घटना भएको खुलेको छ ।
गोदावरी नगरपालिकाका मेयर भट्टले चलाएको सुपप्र ०१००१ झ ६०१ नम्बरको गाडी शनिबार राति मोहनापुल–अत्तरिया ६ लेन सडकखण्ड अन्तर्गत गेटा क्षेत्रमा अनियन्त्रित भई सडक छेउको रेलिङमा ठोक्किएको थियो । दुर्घटनामा कुनै मानवीय क्षति नभए पनि गाडीको अगाडिको भागमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
स्थानीयवासीले दुर्घटनाबारे प्रहरीलाई जानकारी दिएपछि घटनास्थल पुगेको प्रहरीले आवश्यक अनुसन्धान गरेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली का अनुसार मेयर भट्टले मदिरा सेवन गरी सवारी चलाएको स्वीकार गरेपछि उनलाई मापसे तथा लापरवाहीपूर्वक सवारी चलाएको अभियोगमा कुल एक हजार रुपैयाँ जरिबाना गरिएको हो ।
ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक रेशम आचार्य ले मापसे गरेको कसुरमा पाँच सय रुपैयाँ र लापरवाहीपूर्वक सवारी चलाएको अभियोगमा थप पाँच सय रुपैयाँ जरिबाना गरिएको जानकारी दिए ।
आफन्तमार्फत जरिबाना बुझाएपछि नियन्त्रणमा रहेको गाडी आवश्यक कागजी प्रक्रिया पूरा गरी छाडिएको प्रहरीले जनाएको छ ।