चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा यही असार ७ गतेदेखि ९ गतेसम्म हुने महाधिवेशनको बन्दसत्रका लागि हल उपलब्ध गराउन चितवन उद्योग संघले सरकारको आधिकारिक निर्णयसहितको पत्र माग गरेको छ ।
घरेलु तथा साना उद्योग कार्यालयको भवनमा रहेको संघको प्रर्दशनी मैदानमा बनेका हलहरू रास्वपाले बन्दसत्रका लागि माग गरिएकोमा संघले सरकारको आधिकारिक निर्णयसहितको पत्र माग गरेको अध्यक्ष मदन घिमिरेले जानकारी दिए ।
आज बिहान बसेको संघका पदाधिकारीसहित काउन्सिलका सदस्यहरुको बैठकले सरकारको आधिकारिक स्पष्टतासहितको पत्र माग गर्ने निर्णय गरेको छ ।
संघलाई भोगाधिकारसहित सञ्चालनको अनुमति दिँदा औद्योगिक प्रर्दशनी र विपद्जन्य कामहरु बाहेक अन्य प्रयोजनका लागि हल प्रयोग गर्न नपाइने मन्त्रिपरिषद्को निर्णयमा उल्लेख रहेकोले सो निर्णयका बारेमा सरकारको आधिकारिक जानकारीसहित पत्र प्राप्त नभएसम्म हलको प्रयोग गर्न दिन नसकिने संघका अध्यक्ष घिमिरे बताए ।
उनले बाहिर मिडियामा आएको जस्तो संघले बन्दसत्र गर्न हल प्रयोगका लागि अनुमति दिइनसकेको बताए । संघका पूर्व ध्यक्षहरुले पनि सरकारले जुन प्रयोजनका लागि हलको प्रयोग गर्न अनुमति दिएको छ सोभन्दा बाहेक अर्को निर्णय नहुँदासम्म प्रयोग गर्न नदिन सुझाव दिएका छन् ।
यसअघि पनि विभिन्न राजनीतिक पार्टीहरुले विभिन्न कार्यक्रम गर्न हल माग गरेको तर संघले राजनीतिक प्रकृतिका कार्यक्रम स्वीकृत दिएको थिएन ।
रास्वपाले सुरक्षा संवेशदनशीलताका कारण एकपटकका लागि महाधिवेशनको बन्दसत्रका लागि हल प्रयोग गर्न दिन अनुमति माग गरेको थियो । उद्योग मन्त्रालयले हिजो मंगलबार एक पत्र पठाउँदै रास्वपालाई एकपटकका लागि हल प्रयोग गर्न दिन अनुरोध गरेको थियो । तर, संघले जुन निकायबाट जे प्रयोजनका लागि हल प्रयोग गर्न दिने वा नदिने निर्णय भएको छ सोही निकायबाट नै निर्णय परिवर्तन वा विषेश निर्देशनको माग गरेको छ ।