काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि रुसी महासङ्घका आवासीय राजदूत एलेक्सी भ्लादिमिरोविच सुरोभत्सेभले बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटवार्ताका क्रममा एकापसमा शुभकामना आदानप्रदान गरेपश्चात् नेपाल र रुसबिचको द्विपक्षीय सम्बन्धका विविध आयाममा संवाद भएको हो ।
भेटका क्रममा उपराष्ट्रपति यादवले सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र रुसी महासङ्घबिच मैत्रीपूर्ण एवं सौहार्दपूर्ण सम्बन्ध रही आएकोप्रति सन्तोष व्यक्त गरे। उनले यसै वर्ष दुई राष्ट्रबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष पूरा हुँदै गरेको महत्त्वपूर्ण प्रसङ्ग उल्लेख गर्दै पारस्परिक सम्मान, समझदारी र मित्रताको अटुट बन्धनमा आधारित यो सम्बन्धलाई नेपालले सगौरव स्मरण गर्न चाहेको बताए।
उपराष्ट्रपति यादवले नेपाललाई सोभियत सङ्घ कालदेखि नै मानव संसाधन विकास, पर्यटन, औद्योगिक तथा यातायात पूर्वाधारका क्षेत्रमा रुसले गरेको सहयोग निकै प्रशंसनीय रहेको उल्लेख गरे। दुई देशबिचको सम्बन्धबारे प्रस्ट पार्दै उनले भने, ‘पछिल्लो समयमा दुई राष्ट्रबिच बढ्दो सांस्कृतिक तथा जनस्तरको आदानप्रदानप्रति नेपालले प्रसन्नता व्यक्त गर्दछ । आगामी दिनहरूमा नेपाल–रुस द्विपक्षीय सम्बन्धमा नयाँ आयाम थपिँदै हाम्रो सम्बन्ध अझ सुदृढ हुने विश्वास लिएको छु ।’
भेटका क्रममा उपराष्ट्रपति यादवले रुसी महासङ्घको राष्ट्रिय दिवसको अवसरमा मैत्रीपूर्ण रुसी जनताको सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना समेत व्यक्त गरे।
सोही अवसरमा रुसी राजदूत सुरोभत्सेभले नेपाल–रुस सम्बन्धलाई अझ बलियो र प्रगाढ बनाउन आफ्नो तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। उनले रुस सरकार नेपाललाई जलविद्युत, कृषि, चिकित्सा तथा भौतिक पूर्वाधार लगायतका विविध क्षेत्रमा थप सहयोग गर्न इच्छुक रहेको उल्लेख गरे।
त्यसैगरी नेपाल सरकारबाट औपचारिक अनुरोधसहित आवश्यक सूची प्राप्त भएमा नेपालका पुराना र ऐतिहासिक औद्योगिक प्रतिष्ठानहरू वीरगन्ज चिनी कारखाना तथा जनकपुर चुरोट कारखानालाई पुनः सञ्चालन योग्य बनाउन समेत रुसी पक्ष पूर्ण रूपमा तयार रहेको राजदूत सुरोभत्सेभले स्पष्ट पारे।