काठमाडौं, भदौ १ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।
यसअघि अदालतबाट प्राप्त तीन दिनको म्याद सकिएपछि अनुसन्धान पूरा नभएको भन्दै प्रहरीले श्रेष्ठलाई पुनः अदालतमा उपस्थित गराएर थप हिरासत समय माग गरेको थियो। अदालतले प्रहरीको माग स्वीकार गर्दै अनुसन्धानका लागि थप चार दिन हिरासतमा राख्न अनुमति दिएको हो।
श्रेष्ठलाई गत बुधबार उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले पक्राउ गरेको थियो। उनीमाथि वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
उता, पक्राउ गैरकानुनी भएको दाबी गर्दै श्रेष्ठका तर्फबाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको छ। उक्त रिटमाथिको सुनुवाइ सोमबार न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा हुने तय भएको छ।