सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च भएको छ। पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका ५६ मध्ये ४२ वटा ढोका खोलिएका छन्। शनिबार बिहान ८ बजेको मापनअनुसार नदीमा प्रतिसेकेन्ड ३ लाख १३ हजार ३ सय क्युसेक पानीको बहाव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए।
सप्तकोशीमा प्रतिसेकेन्ड १ लाख ५० हजार क्युसेकभन्दा बढी पानीको बहावलाई जोखिमपूर्ण मानिन्छ। पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजमा खतराको संकेतस्वरूप रातो बत्ती बालिएको छ। पूर्वी पहाडी जिल्लामा लगातार वर्षा भइरहेकाले नदीको बहाव अझ बढ्न सक्ने भन्दै प्रहरीले सप्तकोशी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै बराहक्षेत्र नगरपालिका र कोशी गाउँपालिकाअन्तर्गत नदी आसपासका क्षेत्रमा प्रहरीको उद्धार टोली परिचालन गरिएको प्रहरी निरीक्षक ओलीले बताए।
श्रीलंका टापुका स्थानीय सन्तोष चन्द्रवंशीले नदीको बहाव बढ्दै गएपछि तटीय बस्तीका नागरिक त्रसित बनेको बताए। उनले ब्यारेजका सबै ढोका खोलेर तटीय क्षेत्रका नागरिकको सुरक्षाको व्यवस्था मिलाउन माग गरेका छन्। लगातारको वर्षाका कारण सप्तकोशीको जलसतह थप बढ्न सक्ने भएकाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान र सुरक्षित स्थानमा रहन प्रहरीले आग्रह गरेको छ। कोशी ब्यारेज हुँदै पूर्व–पश्चिम आवतजावत गर्ने सवारीसाधनमा समेत सुरक्षा सतर्कता बढाइएको छ।