रसुवा । नेपाल-चीन सिमानाको लेन्दे खोला हुँदै भोटकोशीमा बाढी आएको १ महिना बित्दा अझै ३ हजार ७ सय ६७ जना बेपत्ता रहेका छन्।
बाढीपछि विदेशी ८९ र १३७२ जना गरी १४६१ जनाको उद्धार गरिएको छ।
जिल्लाभर ६ अस्थायी आश्रयस्थलमा २१३ जना रहेको जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बताए। बाढीका कारण बैंक तथा वित्तीय संस्था १५, जलविद्युत आयोजना ८, सरकारी तथा सार्वजनिक निकाय ३१, पेट्रोल पम्प १, सडक ४१ किमी, पक्की पुल ६, बेली/ट्रस्ट ब्रिज ८, झोलुङ्गे पुल १०, आर्क पुल १ वटा पूर्णरुपमा क्षति भएको छ। गाउँपालिकाहरुका अनुसार जिल्लाभर १३४९ घर पूर्णरुपमा क्षति भएको प्रारम्भिक तथ्यांक रहेको छ।
एक महिना बित्दा पनि ध्वस्त रहेको पुल तथा सडक कनेक्टिभिटी हुन सकेन। बेत्रावतीस्थित फलाखु खोलामा बेली बृजको जडान गर्ने तयारी रहेपनि निरन्तरको भारी वर्षा तथा सडकमा हिलोका कारण ढिलाइ भएको छ। पुल तथा सडक सञ्जाल जोड्न ढिलाइ हुँदा पाँच गाउँपालिका र २७ वडा रहेको रसुवाको त्रिशूली पारीका ९ वटा वडामा बाढी पछि आवश्यक राहत सामग्री समेत पर्याप्त लैजान नसकिएकोले समस्या भएको छ।
गाउँ सडक सञ्जालको सम्पर्क टुटेपछि गाउँमा खाद्यान्न तथा दैनिक अत्यावस्यक सामग्री लैनान तथा स्थानीय उत्पादनलाइ बजार अभाव भएको किसानहरुको गुनासो रहेको छ। बाढीका कारण सडक र पुल अभाव भएपछि आमाछोदिङमो गाउँपालिकामा किसानले गरेको व्यवसायिक बन्दा बिक्री हुन नसक्दा किसान मर्कामा परेको आमाछोदिङमो–३ का वडा अध्यक्ष सरेन्द्र तामाङले बताए। ‘बिक्रीका लागि तयार भएको करोडौको तरकारी खेतीले बजार नपाउदा ठूलो समस्या भएको छ। ’ उनले भने, 'केही दिनमा सडक सञ्जाल नजोडिए यहाँका किसानले उत्पादन गरेको बन्दा खेर जान्छ।'
जिल्लाभर १६ शिक्षक बेपत्ता
बाढीका कारण जिल्लाभर ४ विद्यालयका १६ शिक्षक बेपत्ता भएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार शिक्षक तथा विद्यालयका कर्मचारी गरी १६ जना बेपत्ता भएका छन्। उत्तरगया गाउँपालिकाबाटै १३६ जना विद्यार्थीहरू बेपत्ता भएका छन्।
उत्तरगया गाउँपालिकाले २४ गतेदेखि विद्यालय सुचारु गरेको छ भने बाढीमा बगेका विद्यालय नजिकको विद्यालयमा गाभ्ने स्थानीय तहको निर्णय अनुरुप सुचारु भएको हो। जिल्ला वारि पुगेका अभिभावकहरू फर्केपछि बालबालिकाहरू पनि विद्यालय फर्कने नीलकण्ठ माविका प्रधानाध्यापक माधव लामिछानेले बताए।
१२ जना स्वास्थ्यकर्मी बेपत्ता
भदौ १० गते भोटकासीमा आएको बाढीका कारण गोसाइकुण्ड र उत्तरगया गाउँपालिकाका कार्यरत १२ जना स्वास्थ्यकर्मी बेपत्ता भएका छन्।
जिल्ला जनस्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइकुण्ड गाउँपालिकामा कार्यरत हेल्थ असिस्टेन्ट खुम्बु बोहोरा, ७ महिनाको बच्चा सहित कोपिला केसी, विजय कुमार घले, २ वर्षको बच्चा सहित सुस्मिता पाण्डे, कर्महिसी घले, ३ वर्षको बच्चा सहित सरिता मल्ल, ८ महिनाको बच्चासहित ललितादेवी कुमाइ, गोविन्द यादव रहेका छन्।
उत्तरगया गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य निरीक्षक बलराम न्यौपाने, जनस्वास्थ्य अधिकृत प्रदिप न्यौपाने, ममता श्रेष्ठ (छोरा, छोरी र पतिसहित र दिनिसा शाही गरी १२ जना स्वास्थ्यकर्मी बाढीमा बगेर बेपत्ता भएको जिल्ला जनस्वास्थ्य प्रमुख निरध्वज मगरले बताए।
त्यसैगरी रसुवागढी नाकामा रहेको स्वास्थ्य हेल्पडेस्क, टिमुरे स्वास्थ्य चौकी, स्याफ्रु स्वास्थ्य चौकी, मैलुङ्ग सामुदायिक स्वास्थ्य इकाइ, गोसाइकुण्ड गाउँपालिका स्वास्थ्य शाखा स्टोर सहित र उत्तरगया गाउँपालिका स्वास्थ्य शाखा स्टोर सहित बाढीले बगाएर पूर्ण रुपमा ध्वस्त भएको छ।
स्वास्थ्य चौकीमा बिरामीको उपचार गर्ने स्वास्थ्यकर्मीदेखि शाखा प्रमुखसम्म भएका बलराम न्यौपाने उत्तरगया गाउँपालिका–४ का हुन्। उनी उत्तरगया गाउँपालिका स्वास्थ्य र विपद व्यवस्थापनको नेतृत्व गर्थे। गाउँभर केही सुख दुःख पर्दा होस वा कुनै कार्यमा युवाहरुको नेतृत्व गर्दथे।
गाउँपालिकामा विपद् तथा स्वास्थ्य शाखामा खट्ने बलराम बाढी आउने सूचना प्राप्त भएपछि जनतालाइ सूचना दिँदै नदि किनारामा नबस्न अनुरोध गर्दै कैदलेटारस्थित गाउँपालिका कार्यालयबाट मोटरसाइकलमा नौविसे, खाल्टे, नयाँ पुल हुँदै शान्तिबजारतर्फ जाने क्रममा बाढीले बगायो।
‘हामी बाढीको सूचना माइकिङ गर्दै थियौं नयाँ पुल तरेर १५ मिटरजति अघि बढेका थियौं।’ मोटरसाइकलबाट हाम फालेर बचेका सुदीप न्यौपाने भन्छन्,‘बलरामले बाढी ठूलो आयो भागौं भनेर फर्केर खाल्टेमा पुगेका थियौं,म जनक आचार्य दाइको बाइकबाट हाम फालेर माथितिर भागेर २ सेकेन्डले बाँचे। सँगै गएका बलराम र जनक दाइ मोटरसाइकलसहित फर्केनन्।’
स्वास्थ्यकर्मी बलरामका श्रीमती सुस्मिता पुरी स्वास्थ्य क्षेत्रमै छिन् भने २ वर्षका १ छोरा छन्। ‘गाउँमा स्वास्थ्य सेवामा योगदान पुर्याएर छोटो समयमा लोकप्रिय बलराम जस्ता धेरै युवालाई बाढीले लगेर परिवारलाई मात्र होइन समाज नै टुहुरो भयो’ स्थानीय लीला न्यौपाने सुनाउँछन्।
सेवा दिने स्वास्थ्य संस्था बाढीले बगाउँदा र तथा स्वास्थ्यकर्मी बेपत्ता हुँदा सेवा प्रवाहमा समस्या परेको छ। उत्तरगया गाउँपालिकाको तिरु गाउँमा रहेको स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी अभाव भएको स्थानीयले गुनासो गरेका छन्। त्यहाँ स्वास्थ्यकर्मी अभाव भएको हो, गाउँपालिकासँग समन्वय भएको जिल्ला जनस्वास्थ्य प्रमुख निरध्वज मगरले बताए। स्थानीय तहका ७ जना जनप्रतिनिधिहरू, कर्मचारी , सुरक्षाकर्मीहरू पनि बेपत्ता छन्।