रौतहट । स्वास्थ्य संस्थामा दक्ष जनशक्ति अभाव हुँदा मातृ तथा शिशु स्वास्थ्य सेवा कति जोखिमपूर्ण बन्न सक्छ भन्ने उदाहरण रौतहटको गरुडा नगरपालिका–६ पोठियाहीस्थित बर्थिङ सेन्टरमा देखिएको छ। सुत्केरी गराउन पुगेकी एक महिलाले स्वास्थ्यकर्मी नभएकै कारण बर्थिङ सेन्टरको गेट बाहिरै बच्चा जन्माउन बाध्य भएकी छन्।
आइतबार बिहान करिब साढे १० बजे स्थानीय आमिचन माझी मुसहरकी छोरीलाई सुत्केरी गराउन परिवारका सदस्यले बर्थिङ सेन्टर पुर्याएका थिए। तर त्यहाँ सुत्केरी सेवा उपलब्ध गराउने स्वास्थ्यकर्मी उपस्थित नरहेको जानकारी पाएपछि परिवारका सदस्य अर्को स्वास्थ्य संस्थामा लैजान सवारीको खोजीमा लागेका थिए।
यसैबीच सुत्केरी व्यथा तीव्र भएपछि ती महिलाले बर्थिङ सेन्टरको परिसरबाहिरै शिशु जन्माएकी थिइन्। घटना भएपछि सेन्टरका कर्मचारी रौशन जैसवाललाई घरबाट बोलाइएपछि आमा र नवजात शिशुलाई केन्द्रभित्र लगेर आवश्यक हेरचाह गरिएको वडा नम्बर ६ का अध्यक्ष रामबाबु चौधरीले जानकारी दिए।
वडा अध्यक्ष चौधरीका अनुसार बर्थिङ सेन्टरमा कार्यरत तारा रामसहित दुई जना महिला स्वास्थ्यकर्मीलाई करिब छ महिनाअघि अन्यत्र सरुवा गरिएको थियो। त्यसयता दक्ष जनशक्तिको अभावले सुत्केरी सेवा प्रभावित हुँदै आएको छ।
‘पहिले दैनिक तीन–चार जनासम्म महिलाले यहीँ सुरक्षित रूपमा सुत्केरी सेवा लिने गरेका थिए। स्वास्थ्यकर्मी सरुवा भएपछि सेवा प्रभावित भयो,’ चौधरीले भने।
उनका अनुसार स्वास्थ्यकर्मीको सरुवा फिर्ता गरी केन्द्रमा पुनः जनशक्ति व्यवस्थापन गर्न नगर प्रमुख कन्थमणि जैसवालसँग पटक–पटक आग्रह गरिए पनि हालसम्म कुनै ठोस पहल हुन सकेको छैन।
घटनापछि नगरपालिकाको स्वास्थ्य सेवा व्यवस्थापनमाथि प्रश्न उठ्न थालेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय नेता रविन्द्र यादवले विपन्न तथा दलित समुदायका महिलाले निर्भर रहने स्वास्थ्य संस्थामै आवश्यक जनशक्ति नहुनु गम्भीर विषय भएको बताउँदै घटनाबारे नगर प्रमुखसँग छलफल गर्ने बताएका छन्।
स्थानीयवासीका अनुसार पोठियाही बर्थिङ सेन्टरमा स्वास्थ्यकर्मी सरुवा हुनुअघि नियमित रूपमा सुत्केरी सेवा सञ्चालन हुँदै आएको थियो। तर अहिले संरचना भए पनि सेवा सञ्चालनका लागि आवश्यक जनशक्ति नहुँदा स्थानीय गर्भवती महिलाहरू समस्यामा परेका छन्।
घटनाले स्थानीय तहअन्तर्गत सञ्चालित स्वास्थ्य संस्थामा जनशक्ति व्यवस्थापन, सेवा निरन्तरता र सुरक्षित मातृत्व कार्यक्रमको प्रभावकारितामाथि पुनः प्रश्न खडा गरेको छ। स्थानीयले बर्थिङ सेन्टरमा तत्काल दक्ष स्वास्थ्यकर्मी खटाई नियमित सेवा सुनिश्चित गर्न माग गरेका छन्।