हेटौंडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले कुलेखानी ड्यामको ढोका खोलिएको भन्ने हल्ला निराधार रहेको बताएका छन्। सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट फैलिएको उक्त जानकारी तथ्यहीन रहेको भन्दै उनले सर्वसाधारणलाई भ्रममा नपर्न आग्रह गरेका छन्।
प्रमुख जिल्ला अधिकारी अधिकारीका अनुसार हाल ड्यामको ढोका खोलिएको छैन। तर लगातारको वर्षाका कारण जलाशयको पानीको सतह रातिको समयमा थप बढ्न सक्ने सम्भावना रहेकाले पूर्वसावधानीस्वरूप देउराली–सिस्नेरी सडकखण्डमा यात्रा प्रतिबन्ध लगाइएको हो।
उनले जलाशयको अवस्था आकस्मिक रूपमा परिवर्तन भई ड्यामको ढोका खोल्नुपर्ने परिस्थिति सिर्जना भएमा तल्लो तटीय क्षेत्र तथा सडकखण्डका केही भागमा पानीको बहाव बढ्न सक्ने जोखिम रहेको बताए। सोही सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षाका लागि सडकमा आवागमन रोकिएको उनको भनाइ छ।
प्रशासनले हाल परिस्थितिको निरन्तर निगरानी गरिरहेको जनाएको छ। साथै सम्भावित विपद् जोखिमलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन र आधिकारिक निकायबाट प्राप्त सूचनामात्र विश्वास गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।