बारा । मधेश प्रदेश सरकार अन्तर्गतका पूर्वाधार विकास कार्यालय बारामा कार्यालय स्थापना भएको तीन वर्ष नपुग्दै १० पटक कार्यालय प्रमुख परिवर्तन भएका छन् । छोटो अवधिमै पटक पटक नेतृत्व फेरिँदा जिल्लामा सञ्चालित सडक, पुल तथा भवनलगायतका पूर्वाधार योजनाको कार्यान्वयन र कार्यालयको प्रशासनिक निरन्तरताको कार्य प्रभावित हुँदै आएको छ ।
मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री महम्मद समीरका अनुसार पूर्वाधार विकास कार्यालय बारामा एक महिना नपुग्दै कार्यालय प्रमुख सरुवा हुने गरेकोबारे आफूलाई केही जानकारी नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई केही दिनदेखि सन्चो छैन । आज यसै विषयमा बैठक रहेकाले यसबारे जानकारी लिन्छु अनि थप जानकारी गराउँछु ।” संयोग पूर्वाधार विकास मन्त्रालयको नेतृत्व बाराको निर्वाचन क्षेत्र नं. ३ (ख) बाट निर्वाचित समीरले नै गरिराख्नुभएको छ ।
मन्त्रीकै जिल्लामा रहेको विकासनिर्माणसँग प्रत्यक्ष जोडिएको कार्यालयमा नेतृत्व स्थिर हुन नसक्नुले पनि मन्त्रालयको सरुवा व्यवस्थापनबारे बारा जिल्लामा थप चासोको विषय बनाएको छ । यसै गरी भौतिक पूर्वाधार विकास मन्त्रालय, मधेश प्रदेशका प्रवक्ता प्रवीणप्रताप अधिकारीले गोरखापत्रकर्मीसँग कुरा गर्दै ९ र १० तहको नियमित सरुवा मुख्यमन्त्री कार्यालयबाट हुने गरेको छ तर यसरी बारामा भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सरुवा भएको बताउनुभयो ।
यसरी कार्यालय प्रमुख फेरिँदा सञ्चालित विकासनिर्माण कार्य सडक, पुल तथा भवनलगायत प्रभावित हुने गरेको पूर्वाधार विकास कार्यालय बाराका प्रमुख ओमकुमार साहले बताउनुभयो । उहाँका अनुसार कर्मचारी मन्त्रालयको आदेश बमोजिम खटिने हो, जहाँ पठाए पनि कामै गर्ने हो ।
स्थापना भएदेखि नै सरुवा
कलैयामा २०८० कात्तिक २० गते कार्यालय स्थापना हुँदा राजेन्द्र साहलाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिइएको थियो । करिब एक वर्ष चार महिना तीन दिनपछि उहाँको सरुवा भयो । त्यसपछि २०८१ फागुन ४ गते ओमकुमार साह कार्यालय प्रमुखका रूपमा हाजिर भए पनि १७ दिनमै उहाँको सरुवा भयो र त्यो ठाउँमा राजेन्द्र साहलाई निमित्त प्रमुखको जिम्मेवारी दिएर पठायो ।
जिम्मेवारी समालेको करिब दुई महिनामै साह नारायणी अस्पतालको आकस्मिक कक्ष भवन निर्माणको ठेक्का प्रक्रियामा एक करोड ८४ लाख ३८ हजार ४५८ रुपियाँ अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साहसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि साह निलम्बनमा पर्नुभएको थियो । त्यसपछि २०८२ जेठ ४ गते रिम्पुकुमारी यादवलाई निमित्त प्रमुखको जिम्मेवारी दिएको थियो । उहाँले करिब चार महिना मात्रै कार्यालयमा काम गर्नुभयो । त्यसपछि २०८२ असोज ९ गते सञ्जयकुमार यादवलाई जिम्मेवारी दिइए पनि २१ दिनमै सरुवा भयो र सो ठाउँमा पुनः ओमकुमार साहलाई प्रमुख बनाएर पठाइयो ।
साहले करिब पाँच महिना आठ दिन जिम्मेवारी समालेपछि २०८२ चैत ३० गते विशेष अदालतबाट सफाइ पाएका राजेन्द्र साहलाई पुनः निमित्त प्रमुखको जिम्मेवारी दिएर पठाइयो तर २१ दिनमा सरुवा भयो र सो ठाउँमा गत वैशाख २२ गते हेमन्त गाईलाई कार्यालयको जिम्मेवारी दिएको थियो । गाईले जिम्मेवारी समाल्न नसक्ने भन्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र भौतिक पूर्वाधार विकास मन्त्रालयलाई लिखित जानकारी गराएपछि मन्त्रालयले २०८३ जेठ २५ गते पुनः ओमकुमार साहलाई कार्यालय प्रमुखको जिम्मेवारी दिएको थियो ।
आर्थिक वर्षको अन्तिम समयमा जिम्मेवारी समालेका साहले विकासनिर्माणका काम अघि बढाइरहेकै अवस्थामा मन्त्रालयले पुनः उहाँलाई हटाउने निर्णय गरेको हो । मन्त्रालयको भदौ २५ गतेको निर्णय अनुसार हाल मन्त्रालयमै निमित्त प्रदेश सचिवका रूपमा कार्यरत सञ्जयप्रसाद साहलाई पूर्वाधार विकास कार्यालय, बाराको जिम्मेवारीमा खटाइएको छ ।
योजना प्रभावित हुने चिन्ता
पूर्वाधार विकास कार्यालयको प्रमुख जिम्मेवारी प्रदेश सरकारका सडक, पुल, भवनलगायतका विकास आयोजना कार्यान्वयन गर्नु हो । एउटा प्रमुखले कार्यालयका योजना, ठेक्का प्रक्रिया, निर्माण व्यवसायी, प्राविधिक अवस्था तथा जिल्लाका विकास प्राथमिकता बुझेर काम अघि बढाउन नपाउँदै सरुवा हुने व्रmमले कार्यालयको संस्थागत निरन्तरता कमजोर हुन सक्ने सरोकारवालाको भनाइ छ ।
विशेष गरी आर्थिक वर्षको अन्त्यतिर कार्यालय प्रमुख परिवर्तन हुँदा निर्माणाधीन योजनाको अनुगमन, कामको मूल्याङ्कन, भुक्तानी प्रक्रिया र नयाँ आवका योजनाको तयारी प्रभावित हुन सक्ने देखिन्छ । कार्यालय प्रमुख परिवर्तन गर्नु प्रशासनिक अधिकार भए पनि त्यसका लागि स्पष्ट मापदण्ड र न्यूनतम कार्य अवधि आवश्यक देखिन्छ ।