जनकपुर । चाडपर्वका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण तथा सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न धनुषामा एक हजार दुई सय ११ प्रहरी परिचालन गरिने भएको छ।
दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय धनुषाले विशेष सुरक्षा योजना तयार पारेको हो। योजनाअन्तर्गत संवेदनशील क्षेत्रको निगरानीदेखि बजार अनुगमन, पैदल गस्ती, मोबाइल टोली, सवारीसाधन जाँच तथा विपद् प्रतिकार्यसम्मका गतिविधिलाई प्राथमिकतामा राखिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा धनुषाका प्रहरी उपरीक्षक रुपेश खड्काले सुरक्षा योजनाबारे जानकारी दिँदै जिल्लाका संवेदनशील ७० स्थानमा पिकेट टोली परिचालन गरिने बताउनुभयो। आवश्यकता र औचित्यअनुसार तत्काल परिचालन गर्न ४६ वटा पैदल गस्ती टोली तयारी अवस्थामा राखिनेछ।
त्यसैगरी बजार अनुगमनका लागि सात टोली परिचालन गरिनेछ भने ‘स्वीप अपरेसन’ सञ्चालनका लागि सात स्थान पहिचान गरिएको छ। विपद् प्रतिकार्यका लागि १५ टोली र १३ वटा सवारीसाधनसहित मोबाइल टोली परिचालन गर्ने तयारी गरिएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो।
लामो दूरीका सवारीसाधनको चेकजाँचका लागि दुई स्थानमा विशेष व्यवस्था गरिनेछ। लालगढमा रिफ्रेस सेन्टर स्थापना गर्नुका साथै दैनिक आरएससीसी चेकिङलाई समेत प्रभावकारी बनाइने जनाइएको छ।
चाडपर्वका समयमा बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल र मोटरसाइकल चोरीलगायतका घटना हुनसक्ने भएकाले ती क्षेत्रलाई समेत लक्षित गरी सुरक्षा कार्ययोजना बनाइएको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो।
साथै, धनुषा प्रहरीले पछिल्लो अवधिमा गरेको कामकारबाहीको विवरणसमेत सार्वजनिक गरेको छ। जेठ २३ देखि असोज १५ गतेसम्म जिल्लामा ५९९ वटा मुद्दा दर्ता भएकामा ५९० वटा फर्छ्यौट भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार हाल ६६ वटा मुद्दा अनुसन्धानका क्रममा छन्। विगतदेखि हालसम्म एक हजार २७० वटा मुद्दा पेन्डिङ अवस्थामा रहेको जनाइएको छ। फैसला कार्यान्वयनतर्फ सो अवधिमा ६३८ जना फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ परेका प्रतिवादीबाट अदालतले तोकेको २३० वर्ष नौ महिना २६ दिन कैद तथा दुई करोड १४ लाख ९१ हजार ५४२ रुपैयाँ जरिवाना असुलउपर गरिएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो।
यस्तै, सीमा क्षेत्रमा हुने चोरी निकासी तथा अवैध कारोबार नियन्त्रणका क्रममा प्रहरीले ८६ लाख ९६ हजार ८६६ रुपियाँ बराबरका सवारीसाधन, लत्ताकपडा तथा किराना सामग्री बरामद गरेको जनाएको छ। बरामद सामग्री आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुर पठाइएको छ। सो क्रममा ११ वटा मोटरसाइकलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
यसैगरी, लागुऔषध नियन्त्रण अभियानअन्तर्गत विभिन्न स्थानबाट ३९ जना पक्राउ परेको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट ४७५ दशमलव ५१६ किलोग्राम गाँजा, ४२३ दशमलव १ ग्राम ब्राउन सुगर, ८१० थान नाइट्रोभेट ट्याब्लेट तथा डाइजिपामलगायत दुई हजार ४८७ थान इन्जेक्सन एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त अवधिमा घरेलु हिंसासम्बन्धी ३७७ वटा उजुरी प्राप्त भएका थिए। तीमध्ये ३४९ वटा उजुरीमा मिलापत्र भएको छ भने २८ वटा उजुरी अनुसन्धानका क्रममा छन्।
सामाजिक हिंसासम्बन्धी ३२० वटा उजुरी परेकामा २९६ वटामा मिलापत्र गरिएको र २४ वटा उजुरी अनुसन्धानका क्रममा रहेको प्रहरी उपरीक्षक रुपेश खड्काले बताउनुभयो।
धनुषामा विभिन्न समयमा २०१ जना हराएको विवरण प्राप्त भएको प्रहरीले जनाएको छ। उपलब्ध विवरणअनुसार हराउनेमा ८७ महिला, २० बालक र ८९ बालिका रहेका छन्। प्रहरीको खोजतलासबाट हालसम्म १३३ जना फेला परिसकेका छन् भने ६८ जनाको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।