वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–९ रानीघाटस्थित ब्लड डोनेशन चौकमा २७औँ खुला रक्तदान कार्यक्रम आयोजना गरिएको छ। दुर्गा पूजा सेवा समिति रानीघाटको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी रानीघाट उपशाखाको सहकार्यमा भएको कार्यक्रममा ४ महिलासहित ५२ जनाले रक्तदान गरेका छन्।
वडा नम्बर ९ का अध्यक्ष जवाहर गुप्ताको प्रमुख आतिथ्य तथा दुर्गा पूजा सेवा समिति रानीघाटका अध्यक्ष शतिस सिंह राजपुतको अध्यक्षतामा कार्यक्रम भएको थियो।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका कार्यसमिति सदस्य दिनानाथ रौनियार, रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेसहित स्थानीय समाजसेवी, युवा तथा नियमित रक्तदाताहरूको सहभागिता थियो। कार्यक्रम पत्रकार वीरेन्द्र साहले सञ्चालन गरेका थिए।
रक्तदान गर्नेमा पत्रकार राकेश साह, शतिस सिंह राजपुत, निरञ्जन प्रसाद, रामनरेश यादव, दीपक साह, अनिलकुमार चौरसिया, सजाद हवारी, कुलसरीक हवारी, कलामत मियाँलगायत रहेका छन्।
आयोजक समितिका अनुसार रानीघाटमा मानवीय सेवाको उद्देश्यले नियमित रूपमा रक्तदान कार्यक्रम आयोजना हुँदै आएको छ। सहभागीहरूले दुर्घटना, शल्यक्रिया तथा अन्य आपत्कालीन अवस्थामा रगतको आवश्यकता पर्ने भएकाले रक्तदानलाई निरन्तरता दिनुपर्ने बताएका थिए।