वीरगञ्ज । पर्साको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा कार्यरत घुमुवा प्रहरी पप्पु पण्डित एक लाख रुपैयाँसहित जिल्ला प्रहरी कार्यालय तानिएपछि प्रहरीको घुमुवा परिचालन, कमान्ड कन्ट्रोल र आन्तरिक निगरानीमाथि गम्भीर प्रश्न उठेको छ।
स्थानीय स्रोतका अनुसार असोज १३ गते सखुवा प्रसौनी गाउँपालिका–१ मधुवनमथवलका लक्ष्मण सहनीलाई चेक बाउन्ससम्बन्धी विषय देखाउँदै प्रहरी चौकी रङ्गपुर लगिएको थियो। सहनीलाई छुटाउन आफन्तसँग एक लाख रुपैयाँ माग गरिएको र उक्त रकम घुमुवा प्रहरी पप्पु पण्डितमार्फत बुझाइएको दाबी गरिएको छ। पछि सोही रकम पण्डितबाट बरामद भएपछि उनलाई जिल्ला प्रहरी कार्यालय तानिएको स्रोतको भनाइ छ। घटनाबारे पर्सा प्रहरीले विस्तृत आधिकारिक विवरण भने सार्वजनिक गरेको छैन।
पण्डितलाई प्रहरी निरीक्षक समुन्नत अधिकारीको कमान्डमा परिचालित घुमुवाका रूपमा स्थानीयस्तरमा चिनिँदै आएको बताइन्छ। यसअघि पनि सोही कार्यालयबाट परिचालित प्रहरी जवान श्रीलाल मण्डल र सुशील मण्डलमाथि गैरकानुनी रकम असुलीको आरोप लागेपछि जिल्ला तानिएको विवरण सार्वजनिक भएको थियो। एउटै कार्यालयबाट परिचालित घुमुवा प्रहरीमाथि पटक–पटक समान प्रकृतिका आरोप आउनुले अब व्यक्तिगत कर्मचारीको गतिविधिभन्दा माथि उठेर घुमुवा परिचालन र उनीहरूमाथिको कमान्ड तहको निगरानीबारे प्रश्न उठाएको छ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले घटनाबारे चासो देखाएपछि पण्डितलाई जिल्ला तानिएको बताइएको छ। तर, रकम असुलीको आरोपमा घुमुवा कर्मचारी मात्र कारबाहीमा पर्ने र उनीहरूलाई परिचालन गर्ने कमान्ड तहको भूमिकाबारे छानबिन नहुने हो भने प्रहरीभित्रको जवाफदेहिता प्रणालीमाथि थप प्रश्न उठ्ने देखिन्छ।
स्थानीय स्रोतले पटेर्वा सुगौली आसपासका क्षेत्रमा लागूऔषध, अवैध मदिरा, भन्सार छली तथा नदीजन्य पदार्थको अवैध कारोबारलगायत गतिविधि हुने गरेको दाबी गर्दै आएको छ। यस्ता गतिविधि नियन्त्रणका लागि परिचालित प्रहरीमाथि नै असुलीको आरोप लाग्नुले प्रहरीको सूचना संयन्त्र र निगरानी प्रणालीप्रति समेत नागरिकको विश्वास कमजोर बनाउन सक्ने देखिन्छ।
अब मुख्य चासो पप्पु पण्डितबाट एक लाख रुपैयाँ बरामद भएको भनिएको घटनाको वास्तविकता, रकमको स्रोत र प्रयोजन तथा उनलाई परिचालन गर्ने प्रहरी कमान्डको भूमिकाबारे निष्पक्ष छानबिन हुन्छ कि हुँदैन भन्नेमा केन्द्रित भएको छ। यसअघि जिल्ला तानिएका श्रीलाल मण्डल र सुशील मण्डलमाथि भएको विभागीय कारबाहीबारे समेत स्पष्ट विवरण सार्वजनिक नभएकाले पर्सा प्रहरीमाथि यसपटक कारबाही मात्र होइन, पारदर्शी छानबिनको परिणाम सार्वजनिक गर्नुपर्ने दबाब बढेको छ।
यो विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले गुनासो आएकोले सोधपुछका लागि मात्र जिल्ला बोलाइएको बताए साथै कुनै पैसा बरामद नभएको बताए ।