वीरगञ्ज, १७ असोज । हेरचाहसम्बन्धी काममा सबैको समान सहभागिता र जिम्मेवारी हुनुपर्ने सन्देशसहित वीरगञ्ज महानगरपालिकाका दुई वडामा जनचेतनामूलक सडक नाटक प्रस्तुत गरिएको छ।
अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को आर्थिक सहयोग तथा LIFE Nepal, जनकपुरको सहजीकरणमा सञ्चालित Social Protection Civil Society Network कार्यक्रमअन्तर्गत वीरगञ्ज महानगरपालिका–१७ अलौ र वडा नम्बर २२ मनियारीमा ‘हेरचाह अर्थतन्त्र, जिम्मेवारी सबैको’ विषयमा सडक नाटक प्रस्तुत गरिएको हो।
वडा नम्बर १७ अलौमा आयोजित कार्यक्रममा वडाध्यक्ष सञ्जीवबहादुर क्षेत्रीको अध्यक्षता रहेको थियो। कार्यक्रममा महिला, बालबालिका, युवा तथा ज्येष्ठ नागरिकसहित करिब २०० जनाको सहभागिता रहेको थियो।
सडक नाटकमार्फत बालबालिका, ज्येष्ठ नागरिक तथा परिवारका सदस्यको हेरचाह, घरायसी कामलगायतका जिम्मेवारी महिलाको मात्र दायित्व नभई परिवार र समुदायका सबै सदस्यको साझा जिम्मेवारी भएको सन्देश दिइएको थियो। हेरचाहको काममा खर्च हुने समय र श्रमको महत्व बुझाउँदै यस्ता जिम्मेवारीमा सबैको समान सहभागिता आवश्यक रहेको विषयलाई प्रस्तुतिमार्फत जोड दिइएको थियो।
यससँगै सामाजिक सुरक्षा कोषले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाबारे समुदायलाई जानकारी गराउँदै सामाजिक सुरक्षाको महत्व र त्यसबाट प्राप्त हुने लाभबारे समेत सडक नाटकमार्फत सचेतना फैलाइएको थियो। सामाजिक सुरक्षा सेवाको पहुँच र उपयोगका विषयमा समुदायलाई जानकार बनाउँदै उपलब्ध सुविधाबाट लाभ लिन सकिने विषयसमेत प्रस्तुतिमा समेटिएको थियो।
जिल्ला बाल क्लबका बालबालिकाले प्रस्तुत गरेको सडक नाटकमा दैनिक जीवनमा देखिने हेरचाहसम्बन्धी विषयलाई सरल र प्रभावकारी ढंगले प्रस्तुत गरिएको थियो। अभिनयमार्फत हेरचाहको जिम्मेवारी साझा गर्नुपर्ने तथा सामाजिक सुरक्षा सबैका लागि महत्वपूर्ण रहेको सन्देश दिइएको थियो।
कार्यक्रमका फिल्ड अफिसर विक्रम साहले समुदायमा हेरचाह अर्थतन्त्र र सामाजिक सुरक्षा कोषका सेवा–सुविधाबारे जानकारी तथा यसको महत्व बुझाउन सडक नाटक प्रभावकारी माध्यम बनेको जानकारी दिए।