वीरगंज । करिब सात महिना अघि वीरगंजमा भएको युवती सुनिता स्याङ्बोको मृत्यु प्रकरण हत्या हो वा आत्महत्या भन्ने विषयमा गम्भीर प्रश्न उठेपछि घटनाको निष्पक्ष र पूर्ण अनुसन्धान हुनुपर्ने माग वीरगंजमा चुलिएको छ। तत्कालीन पर्सा प्रहरी प्रमुखबाट अनुसन्धानमा गम्भीर त्रुटि र हतारो गरिएको सार्वजनिक भएपछि वर्तमान प्रहरी उपरीक्षक पवन भट्टराईको टोलीले पुनः सूक्ष्म अनुसन्धान गर्नुपर्ने चर्चा बजार तथा चिया पसलहरूमा व्यापक बनेको छ।
वीरगंजको आदर्शनगरस्थित त्रिशाला रेस्टुरेन्टमा कार्यरत सिन्धुपाल्चोककी १९ वर्षीया सुनिता स्याङ्बोले २०८२ साल मंसीर २७ गते पासो लगाएर आत्महत्या गरेकी थिइन्। घटनालगत्तै वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक विक्रम सुवेदीको टोलीले शव मुचुल्का तयार गरी अनुसन्धानको दायरामा रहेका रेस्टुरेन्टका सञ्चालक अनमोल साह (छपोलिया) लगायत तीन जनालाई नियन्त्रणमा लिएको थियो। तर, तत्कालीन पर्सा प्रहरी उपरीक्षक सुदीपराज पाठकले उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा तानेर अनुसन्धान नगरी उद्योगपति सुरेश रुंगटाको पहलमा हाजिरी जमानतमा छाडेको आरोप छ।
फास्ट ट्रयाकमा मुद्दा र त्रुटिपूर्ण अनुसन्धान
अदालतका कागजातहरू हेर्दा प्रहरीले हतार-हतारमा अनुसन्धान टुङ्ग्याएर मुद्दा अदालतमा पेस गरेको देखिन्छ। घटनाको करिब चार महिनाभित्रै पर्सा जिल्ला अदालतबाट फैसला भइसकेको तथ्यले प्रहरी अनुसन्धानको निष्पक्षतामाथि प्रश्न उठाएको छ।
मुद्दामा सिन्धुपाल्चोकका अविनाश भुजेललाई मात्र एक्लो प्रतिवादी बनाइएको छ, तर प्रहरी मिसिलमा उनको मोबाइल नम्बरसम्म उल्लेख छैन। अझ गम्भीर कुरा, मृतककी आमा र भाइ जीवितै छँदा गाउँकै अर्कै युवकलाई मृतकको भाइका रूपमा उभ्याइएको दाबी गरिएको छ। छोरीको मृत्युको केही समयपछि आमाले समेत आत्महत्या गरेकी थिइन्, तर प्रहरीले उक्त घटनालाई अनुसन्धानको दायरामै ल्याएन। जाहेरवाला भनिएका विकास स्याङ्बो केही दिनमै कोरिया जानु र प्रेमी भनिएका युवकसमेत सम्पर्कविहीन हुनुले घटनालाई थप रहस्यमय बनाएको छ।
घटनास्थलबाट बरामद गरिएको सुसाइड नोट फोरेन्सिक ल्याबमा परीक्षणका लागि नपठाइनुले तत्कालीन प्रहरी नेतृत्वको नियतमाथि शङ्का उब्जाएको छ। उक्त सुसाइड नोट मृतक स्वयंले लेखेकी हुन् या होइनन् भन्ने परीक्षण नै गरिएन। त्यसैगरी, मृतकको कल डिटेल्स (CDR) तथा ह्वाट्सएप, भाइबर जस्ता सामाजिक सञ्जालका सन्देशहरूको गहिरो विश्लेषण नगरिँदा यो आत्महत्या हो वा उनलाई आत्महत्या गर्न बाध्य पारिएको हो भन्ने स्पष्ट हुन सकेको छैन।
कोरिया जाने तयारी र शंकास्पद पृष्ठभूमि
त्रिशालाका पूर्वकर्मचारीका अनुसार सुनिता कोरिया जानका लागि अनलाइनमार्फत कोरियन भाषा पढिरहेकी थिइन्। रेस्टुरेन्ट सञ्चालक अनमोल साहले पनि उनलाई भाषा सिक्न छुट दिएका थिए। कोरिया जान १४ देखि १५ लाख रुपैयाँ लाग्ने भएकाले उनी सुरुमा चिन्तित भए पनि पछि सञ्चालकसँग राम्रो सम्बन्ध बनेपछि उनको कोरिया जाने लगभग तय भइसकेको थियो।
हाँसीखुसी जीवन बिताइरहेकी र भविष्यको योजना बनाइरहेकी युवतीले एकाएक आत्महत्या गर्नुको पछाडि कुनै ठूलो दुर्घटना वा दबाब रहेको शङ्का गरिएको छ। घटनाको यथार्थ बाहिर ल्याउन र पीडितलाई न्याय दिलाउन पर्सा प्रहरीले यस प्रकरणको सत्यतथ्य छानबिन गर्नुपर्ने जनदबाब बढेको छ।