पर्सा, असोज २२ गते । पर्साको जगरनाथपुर गाउँपालिका–६ सन्ठीस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यालय सुधार योजना (SIP) को पुनरावलोकन, संशोधन तथा प्रभावकारी कार्यान्वयनसम्बन्धी अभिमुखीकरण गरिएको छ।
अकाउन्टेबिलिटी ल्याब नेपालको आर्थिक सहयोग तथा सामाजिक संस्था जिल्ला समन्वय समिति (SODCC), पर्साको प्राविधिक सहयोगमा सञ्चालित ACCESS परियोजनाअन्तर्गत कार्यक्रम आयोजना गरिएको हो।
विद्यालयको वर्तमान अवस्था, विद्यार्थीका आवश्यकता र स्थानीय परिवेशअनुसार विद्यालय सुधार योजनालाई समयसापेक्ष बनाउने विषयमा कार्यक्रममा छलफल गरिएको थियो। विद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै सबै बालबालिकाका लागि समान पहुँच, सुरक्षित वातावरण र समावेशी सिकाइ सुनिश्चित गर्न SIP को नियमित समीक्षा तथा आवश्यकताअनुसार संशोधन गर्नुपर्नेमा जोड दिइएको थियो।
अभिमुखीकरणमा विद्यालय सुधार योजनाको उद्देश्य, निर्माण प्रक्रिया, प्राथमिकता निर्धारण, कार्यान्वयन तथा अनुगमनका विषयमा सहभागीलाई जानकारी गराइएको थियो। विद्यालयको वास्तविक अवस्था र विद्यार्थीका आवश्यकतालाई आधार बनाएर योजना तयार गर्नुपर्ने तथा त्यसमा समुदायको सुझावलाई समेत समेट्नुपर्ने विषयमा छलफल भएको थियो।
विद्यालय सुधार योजनामा भौतिक पूर्वाधार र शैक्षिक उपलब्धिसँगै समावेशी शिक्षा, बाल संरक्षण, बाल सहभागिता, लैङ्गिक समानता, अपाङ्गता भएका बालबालिकाको पहुँच तथा सुरक्षित विद्यालय निर्माणका विषयलाई प्राथमिकताका साथ समेट्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
त्यस्तै, जलवायु परिवर्तन तथा विपद्का कारण विद्यालयमा पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै जोखिम पहिचान, पूर्वतयारी, आपत्कालीन प्रतिक्रिया र विपद् व्यवस्थापनका उपायलाई समेत SIP मा समावेश गर्नुपर्ने विषयमा अन्तरक्रिया गरिएको थियो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, प्रधानाध्यापक, शिक्षक–शिक्षिका, बाल क्लबका प्रतिनिधि तथा अभिभावक सहभागी थिए। उनीहरूले विद्यालयमा देखिएका समस्या, विद्यार्थीका आवश्यकता र आगामी दिनमा सुधार गर्नुपर्ने प्राथमिकताका विषयमा धारणा राखेका थिए।
कार्यक्रमको सहजीकरण SODCC, पर्साका कार्यकारी निर्देशक रुपक पाण्डेले गरेका थिए। उनले विद्यालय सुधार योजना कागजी दस्तावेजमा सीमित नभई विद्यालयको शैक्षिक, व्यवस्थापकीय तथा समग्र वातावरण सुधारका लागि मार्गदर्शन गर्ने आधार भएको बताए।
विद्यालय सुधार योजनालाई प्रभावकारी बनाउन विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको बताउँदै पाण्डेले विद्यालयको आवश्यकता र परिस्थितिअनुसार योजनाको नियमित समीक्षा तथा परिमार्जन गर्नुपर्नेमा जोड दिए।
अभिमुखीकरणपछि विद्यालयले आफ्नो विद्यमान SIP पुनरावलोकन गरी आवश्यक विषय थप तथा संशोधन गर्ने अपेक्षा गरिएको छ। यसबाट विद्यालयमा सबै बालबालिकाका लागि सुरक्षित, बालमैत्री, समावेशी र गुणस्तरीय शिक्षाको वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ।