काठमाडौं — नेपाली क्रिकेटप्रेमीका लागि स्पोर्ट्स प्रेडिक्शन प्लेटफर्म खेलरो ले आफ्नो सेवामा नेपाली क्रिकेटसमेत समावेश गरेको छ। अब प्रयोगकर्ताले नेपाली क्रिकेटका उपलब्ध खेलहरूको नतिजा अनुमान गर्न, सही अनुमानका आधारमा अंक संकलन गर्न तथा लिडरबोर्डमार्फत अन्य क्रिकेटप्रेमीसँग प्रतिस्पर्धा गर्न सक्नेछन्।
कम्पनीका अनुसार नेपाली क्रिकेटप्रतिको बढ्दो आकर्षणलाई थप अन्तरक्रियात्मक बनाउने उद्देश्यले यो सुविधा थपिएको हो। खेल सुरु हुनुअघि नै कुन टोली विजयी हुन्छ, खेलको नतिजा कस्तो आउँछ वा कुन टोली बलियो देखिन्छ भन्ने अनुमान राखेर प्रयोगकर्ताले आफ्नो क्रिकेट ज्ञान र विश्लेषण क्षमता परीक्षण गर्न सक्नेछन्।
खेलरोले यो प्लेटफर्मलाई बेटिङ नभई निःशुल्क स्पोर्ट्स प्रेडिक्शन प्लेटफर्म भएको स्पष्ट गरेको छ। कम्पनीका अनुसार खेल्नका लागि कुनै रकम लगानी गर्नुपर्दैन। सही अनुमानका आधारमा अंक प्राप्त गर्ने, लिडरबोर्डमा स्थान सुधार गर्ने र अन्य प्रयोगकर्तासँग प्रतिस्पर्धा गर्ने अवधारणामा यो सेवा सञ्चालन गरिएको हो।
यसअघि अन्तर्राष्ट्रिय फुटबलका खेलहरूमा केन्द्रित रहेको खेलरोले अब नेपाली क्रिकेटलाई पनि आफ्नो प्लेटफर्ममा समेटेको जनाएको छ। कम्पनीले नेपाली खेलप्रेमीहरूको बढ्दो सहभागिता र खेलसम्बन्धी छलफल, विश्लेषण तथा प्रतिस्पर्धात्मक संस्कृतिलाई ध्यानमा राख्दै सेवा विस्तार गरिएको उल्लेख गरेको छ।
खेलरोका अनुसार प्रयोगकर्ताले उपलब्ध प्रतियोगिताका खेलहरूको नतिजा अनुमान गरी अंक कमाउन, विभिन्न कन्टेस्टमा सहभागी हुन तथा लिडरबोर्डमा आफ्नो स्थान उकास्न सक्नेछन्।
SoftNEP द्वारा विकसित खेलरो एन्ड्रोइड र iOS दुवै प्लेटफर्ममा उपलब्ध रहेको कम्पनीले जनाएको छ।