बारा — बाराको निजगढ नगरपालिका–१२, रामथलीमा घरायसी विवादका क्रममा श्रीमतीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार ५५ वर्षीय विजय मोक्तानले आफ्नी ४७ वर्षीया श्रीमती सुकुमाया मोक्तानलाई लहराको टुक्राले कुटपिट गरेका थिए। घटनामा सामान्य घाइते भएकी सुकुमायाको स्थानीय मेडिकलबाट चिकित्सक बोलाएर घरमै उपचार गरिएको थियो।
उपचारपछि सुकुमायाले खाना खाएर राति करिब ८ बजे सुत्न गएकी थिइन्। भोलिपल्ट बिहान करिब ४ बजे श्रीमान् विजयले उठाउन खोज्दा नउठेपछि बिहान ६:४० बजे प्रहरीलाई जानकारी गराइएको थियो।
सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर आवश्यक कानुनी प्रक्रिया पूरा गरेको थियो। प्रहरीले सुकुमायाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल बारा पठाएको जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा विजय मोक्तानलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।