मलंगवा — सर्लाहीको मलंगवा नगरपालिकामा कार्यरत इन्जिनियर डिकेश कुमार यादव र सुपरभाइजर सहायक (चौथो) कौशल कुमार मधुकर १ लाख रुपैयाँ घुस रकमसहित रङ्गेहात पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो।
अख्तियारका अनुसार निर्माण भइसकेको भवनको नक्सा दर्ता तथा अभिलेखीकरण गराउने कार्यमा सेवाग्राहीलाई विभिन्न दुःख–हैरानी दिँदै उनीहरूले १ लाख रुपैयाँ घुस (रिसवत) माग गरेका थिए। सेवाग्राहीबाट रकम लिइसकेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
प्रकाशित मिति:
बिहीबार, असोज २२, २०८३ १२:५९