पर्सा । आन्तरिक विवादका कारण समयमै हुन नसकेको पर्साको पकाहाँमैनपुर गाउँपालिकाको गाउँसभा अन्ततः आपसी समझदारी, मेलमिलाप र समन्वयमार्फत सफलतापूर्वक सम्पन्न भएको छ।
नयाँ प्रमुख प्रशासकीय अधिकृत सुमित कुमार सिंहले पदभार ग्रहण गरेको करिब एक सातामै जनप्रतिनिधि र कर्मचारीबीच आवश्यक समन्वय कायम गरी रोकिएको गाउँसभा सञ्चालन गर्न सफलता मिलेको छ।
सम्पन्न गाउँसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ३६ करोड ३० लाख २७ हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको छ। विनियोजित बजेटमध्ये चालुतर्फ २४ करोड ३५ लाख ८२ हजार रुपैयाँ र पुँजीगततर्फ ११ करोड ९४ लाख ४५ हजार रुपैयाँ छुट्याइएको छ।
गाउँसभा सम्पन्न भएसँगै पालिकामा लामो समयदेखि कायम आन्तरिक असमझदारीको अन्त्य भएको छ। यसबाट विकास निर्माण, सेवा प्रवाह तथा स्वीकृत बजेट कार्यान्वयनको प्रक्रिया अगाडि बढाउने बाटो खुलेको छ।
गाउँपालिकाका अध्यक्ष सुरेश मेहताले गाउँपालिकाको सर्वाङ्गीण विकासका लागि सबै जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाहरूबीच निरन्तर सहकार्य आवश्यक रहेको बताउनुभयो। “आपसी मतभेदभन्दा माथि उठेर गाउँपालिकाको हितलाई केन्द्रमा राख्नुपर्छ। सबै पक्षबीच संवाद र समन्वय गरेर अघि बढ्दा मात्र नागरिकले अपेक्षा गरेको विकास र सेवा प्रवाह सुनिश्चित गर्न सकिन्छ। गाउँसभा सम्पन्न हुनु सकारात्मक सुरुवात हो,” उहाँले भन्नुभयो।
त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत सुमित कुमार सिंहले पदभार ग्रहण गरेलगत्तै गाउँपालिकाको प्रशासनिक कामलाई नियमित र व्यवस्थित बनाउन प्राथमिकता दिएको उल्लेख गर्नुभयो। “जनप्रतिनिधि र कर्मचारीबीच समन्वय र सहकार्य भए जुनसुकै समस्या समाधान गर्न सकिन्छ। गाउँसभा सम्पन्न गराउनु सबै पक्षको साझा प्रयासको परिणाम हो। अब स्वीकृत नीति, कार्यक्रम र बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्नु नै हाम्रो मुख्य प्राथमिकता हुनेछ,” अधिकृत सिंहले भन्नुभयो।
अधिकृत सिंहले गाउँपालिकाको प्रशासनिक कामलाई चुस्त बनाउँदै विकास निर्माणमा पारदर्शिता, जवाफदेहिता र गुणस्तर कायम राख्न जनप्रतिनिधि तथा कर्मचारीबीच निरन्तर समन्वय हुनुपर्नेमा जोड दिनुभयो। यसअघि पदभार ग्रहण गर्दा नै उहाँले गाउँसभा सम्पन्न गराउन आवश्यक समन्वय र पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो।
गाउँसभा सम्पन्न भएसँगै अब आर्थिक वर्षका स्वीकृत योजना तथा कार्यक्रमहरूलाई द्रुत गतिमा कार्यान्वयनमा लैजाने र नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने विकास गतिविधिलाई प्राथमिकताका साथ अघि बढाउने गाउँपालिकाले प्रतिबद्धता व्यक्त गरेको छ।