वीरगंज । स्थानीय जनप्रतिनिधि र सम्बन्धित निकायबाट पटक–पटक आश्वासन पाए पनि वीरगंज महानगरपालिका–१६ नगवास्थित ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र श्री ब्रह्मबाबा मन्दिरको विकास र सौन्दर्यीकरण आठ वर्षदेखि अलपत्र परेको छ।
मन्दिर परिसरको भौतिक पूर्वाधार सुधारका लागि नगवा विकास समिति तथा श्री ब्रह्मबाबा उपभोक्ता समितिले वीरगंज महानगरपालिकामा पटक–पटक ध्यानाकर्षण गराउँदै निवेदन दिएका थिए। समितिले मन्दिर परिसरमा जमिन ढलान, बिजुली बत्ती, खानेपानी, मोटर तथा ट्याङ्कीको व्यवस्थापन र समग्र सौन्दर्यीकरणको माग गर्दै आएको छ।
स्थानीयका अनुसार मन्दिर परिसरमा रहेका खाल्डाखुल्डी, वर्षायामको हिलो र हिउँदको धुलोका कारण नियमित पूजा–अर्चनाका साथै विवाह, व्रतबन्धजस्ता धार्मिक तथा सामाजिक कार्य सञ्चालन गर्न गम्भीर समस्या भइरहेको छ।
"हामीले सम्बन्धित निकायमा पटक–पटक धाएर आग्रह गर्यौँ, तर आश्वासनबाहेक केही पाएनौँ," स्थानीयले गुनासो गरे।
वर्षौँदेखि उपेक्षित बनेको मन्दिरको संरक्षण, पूर्वाधार निर्माण र सौन्दर्यीकरणका लागि अब केवल आश्वासन मात्र नभई वीरगंज महानगरपालिकाले तत्काल ठोस कदम चाल्नुपर्ने जोडदार माग स्थानीय बासिन्दा तथा मन्दिर समितिले गरेका छन्।