सिरहा । सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस वर्ष समयमै धान रोपाइँ गरे। तर खेतमा सिँचाइका लागि पानी नपुग्दा उनीसहित स्थानीय किसान अझै वर्षाकै भर पर्न बाध्य छन्। करोडौँ रुपैयाँ खर्चेर निर्माण गरिएको खुट्टीखोला सिँचाइ आयोजना अन्तर्गतको हेडवक्र्स र नहर भए पनि पानी खेतसम्म पुग्न सकेको छैन।
‘करोडौँको लगानीमा हेडवक्र्स बन्यो, लाखौँ खर्चेर नहर पनि सफा गरियो। तर परीक्षणका क्रममा खोलाको पानी नहरमा बगेन, बरु नहरको पानी खोलातिरै फर्किने अवस्था देखियो,’ किसान साहले गुनासो गरे। उनका अनुसार नहर बने पनि बाली सुक्ने चिन्ता भने हटेको छैन।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले २०७७ मङ्सिर १७ गते मल्टिटेक निर्माण कम्पनीसँग आठ करोड ५६ लाख ७२ हजार ४४२ रुपैयाँमा हेडवक्र्स निर्माण सम्झौता गरेको थियो। निर्माण कम्पनीलाई हालसम्म आठ करोड ६८ लाख ९३ हजार ९६२ रुपैयाँ भुक्तानी भइसकेको छ। तत्कालीन लहान नगरप्रमुख मुनि साहले २०७८ कार्तिक २२ गते आयोजनाको शिलान्यास गरेका थिए।
आयोजनाबाट मड् यान, गडमे, बानो र सर्रे खोलाको पानी संकलन गरी मुख्य नहरमार्फत कृषि क्षेत्रमा सिँचाइ पुर्याउने लक्ष्य राखिएको थियो। तर निर्माण सम्पन्न भएको करिब पाँच वर्ष पुग्न लाग्दासमेत आयोजना सञ्चालनमा आउन सकेको छैन।
महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदन २०८१ ले हेडवक्र्सको डिजाइनमै प्राविधिक त्रुटि रहेको औँल्याएको छ। प्रतिवेदनअनुसार हेडवक्र्स खोलाको प्राकृतिक जलसतहभन्दा अग्लो स्थानमा निर्माण गरिएकाले पानी संकलन र वितरण सम्भव नभएको उल्लेख छ। डिजाइन सुधार तथा थप संरचना निर्माण नगरी आयोजना सञ्चालन हुन नसक्ने निष्कर्ष प्रतिवेदनमा दिइएको छ।
सिँचाइ कार्यालयको पछिल्लो निरीक्षणले समस्या हेडवक्र्समा मात्र सीमित नरहेको देखाएको छ। मुख्य तथा शाखा नहरमा सहरी ढल मिसिने, माटो र गेग्रान थुप्रिने, सडक निर्माण तथा अतिक्रमणका कारण नहर साँघुरिने समस्या रहेको कार्यालयले जनाएको छ। इञ्जिनियर सञ्जीवकुमार यादवका अनुसार केही स्थानमा ९० सेन्टिमिटरसम्म माटो जमेको छ। माटो हटाएपछि दक्षिणी नहरमा पानी सञ्चालन गर्न सकिने सम्भावना देखिए पनि पश्चिमी नहरमा अझै संरचनागत समस्या रहेको उनले बताए।
आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेश सरकारले नहर सफाइका लागि १५ लाख रुपैयाँ विनियोजन गरेको थियो। त्यसमध्ये सात लाख ९० हजार २४५ रुपैयाँमा शिवम् कन्स्ट्रक्सनलाई सफाइको जिम्मा दिइए पनि अपेक्षित परिणाम आउन सकेन।
स्थानीय देवराज पोखरेलले नहर गहिरो बनाउने क्रममा सडक भासिन थालेको, बोटबिरुवामा क्षति पुगेको तथा विद्युत्का पोलसमेत जोखिममा परेको भन्दै आयोजनाको प्राविधिक र आर्थिक छानबिन गर्न माग गरेका छन्।
सिँचाइ कार्यालय प्रमुख सुमनकुमार झाले हेड रेगुलेटरबाट करिब ४०० मिटर तल रहेको मन्दिर र पानी बाँड्ने संरचनाले मुख्य तथा शाखा नहरमा पानीको प्रवाह अवरुद्ध गरिरहेको बताए। उनका अनुसार मुख्य नहर चार हजार ९०० मिटर र शाखा नहर एक हजार ७१० मिटर लामो छ। अवरोध हटाउने, नहर मर्मत तथा स्तरोन्नति गर्ने र ढल व्यवस्थापन गर्न सके पानी सञ्चालन सहज हुने उनले बताए।
लहान नगरपालिकाका प्रमुख महेश चौधरीले बजारको फोहोर व्यवस्थापन र पश्चिमी नहरबाट सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले करिब आठ करोड रुपैयाँ लागतको भूमिगत नाला निर्माण योजना अघि सारिएको भए पनि राजनीतिक विवादका कारण कार्यान्वयन हुन नसकेको बताए।
खुट्टीखोला सिँचाइ उपभोक्ता समितिका अध्यक्ष धर्मराज चौधरीले पटक–पटक पहल र आन्दोलन गर्दा पनि आयोजनामा उल्लेखनीय सुधार हुन नसकेको बताए।
यसैबीच सिँचाइ कार्यालयले असोज ८ गते आयोजना सुधार तथा स्तरोन्नतिसम्बन्धी विस्तृत प्रतिवेदन मधेश प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयमा पेश गरेको छ। कार्यालयले बहुवर्षीय योजनाअन्तर्गत नहर मर्मत, संरचना सुधार र स्तरोन्नतिका लागि १२ करोड ४३ लाख दुई हजार रुपैयाँ बजेट माग गरेको जनाएको छ।
आयोजनाको कुल कमाण्ड क्षेत्र ९६४ हेक्टर रहेको छ। त्यसमध्ये करिब ६०० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याई सात हजार घरधुरीका करिब ३५ हजार नागरिकलाई लाभ पुर्याउने लक्ष्य राखिएको छ। आयोजना पूर्ण क्षमतामा सञ्चालन भए कृषि उत्पादन २०० प्रतिशतसम्म वृद्धि हुने अपेक्षा गरिएको छ।
स्थानीय इञ्जिनियर वीरेन्द्र महतोले थप बजेट मात्र पर्याप्त नहुने बताउँदै हेडवक्र्सको प्राविधिक परीक्षण, नहरको सतह सुधार, पानीको स्रोत सुनिश्चितता तथा ढल व्यवस्थापनलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिए। उनका अनुसार हेडवक्र्सदेखि नहरको अन्तिम बिन्दुसम्म प्राविधिक अध्ययन गरी खेतसम्म पानी पुग्ने सुनिश्चित कार्ययोजना नबने करोडौँ रुपैयाँ खर्चिएको आयोजना उपयोगविहीन संरचनामै सीमित रहने जोखिम कायमै रहनेछ।