वीरगन्ज । वीरगन्ज भन्सार कार्यालयमा आफ्नो पहुँच रहेको भन्दै लिलामका सामान तथा सवारीसाधन सस्तोमा उपलब्ध गराइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाही घर भई काठमाडौंमा डेरामा बस्दै आएका प्रवीण साह रहेका छन् ।
आफूलाई सशस्त्र प्रहरी बलको असई बताउँदै भन्सार कार्यालयका एजेन्टहरूसँग राम्रो चिनजान रहेको दाबी गरेर उनले ठगी गर्ने गरेको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लका अनुसार साहले वीरगन्ज भन्सार कार्यालयबाट लिलाम हुने सामान तथा सवारीसाधन कम मूल्यमा उपलब्ध गराइदिने भन्दै विभिन्न व्यक्तिसँग रकम लिने गरेका थिए ।
आफूलाई सशस्त्र प्रहरीको असई परिचय दिएर ठगी गरिरहेको भन्ने गुनासो प्राप्त भएपछि प्रहरीले साहलाई गत २२ गते वीरगन्जको घण्टाघर क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार साहले ५० हजार रुपैयाँ नगद र तीन लाख रुपैयाँ बराबरको चेक ठगी गरी लिएको खुलेको छ ।
विभिन्न विषयमा अनुसन्धान भइरहेकोमा प्रहरीले उनलाई आवश्यक सबुत प्रमाणसहित कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
यसैबीच, पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले भन्सार वा अन्य सरकारी कार्यालयमा पहुँच रहेको भन्दै कुनै बिचौलियाले रकम मागेमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेका छन् ।