जनकपुरधाम । हुलाकी राजमार्गमा पर्ने कमला नदीको पुल भएर यातायात सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । आउँदो मङ्सिर अन्तिम सातादेखि कमला पुल भएर यातायात सञ्चालन गर्ने तयारी रहेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका प्रमुख एवं सिनियर डिभिजनल प्रमुख कृष्णकुमार महतोले जानकारी दिनुभयो ।
डिभिजनल प्रमुख महतोका अनुसार धनुषा र सिराहा जिल्लालाई जोड्ने कमला पुलको निर्माणका लागि २०६८ सालमा पप्पु जेभी लुम्बनी काठमाडौँसँग सम्झौता भई निर्माण सुरु भएको थियो । उक्त पुल २०७८ सालमा निर्माण सम्पन्न भई सञ्चालनको तिथिमिति नै तोकिएको थियो । उहाँले भन्नुभयो, “२०७८ साल असार १७ गते कमला नदीमा आएको बाढीका कारण पुलका दुई वटा पिल्लर भासिएपछि त्यतिबेला पुल नियमित हुन सकेन ।” निर्माण कम्पनीको बिमा कम्पनीसँगको लफडाले भासिएका पिल्लर निर्माण हुन सकेको थिएन ।
अहिले कमला पुल सञ्चालनका लागि भासिएको पिल्लर निमार्णको काम तीव्र गतिमा भइरहेको सिनियर डिभिजनल प्रमुख महतोले बताउनुभयो । उहाँले निर्माण कम्पनीको सव्रिmयता, हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयको निरन्तरको प्रयास, धनुषा र सिराहाका जनप्रतिनिधिको पहलले पिल्लर निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुभयो ।
कमला पुल निर्माण गरिरहेका पप्पु लुम्बिनी जेभी काठमाडौँले कमला पुलमा भासिएका दुई वटा पिल्लरमध्ये एउटा पिल्लरलाई सबलीकरण गरेको छ । बढी भासिएको पिल्लरको ठाउँमा नयाँ दुई वटा पिल्लर निर्माण गरेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका प्रमुख महतोले बताउनुभयो । उहाँले कात्तिकबाटै कमला पुल भएर यातायात सञ्चालनको तयारी गरिए पनि भदौमा आएको बाढीका कारण निर्माणमा प्रभाव परेकाले मङ्सिर अन्तिम साताबाट पुल भएर यातायात सञ्चालन गर्ने तयारी रहेको बताउनुभयो । कमला पुलको साइटमा खटिएका पप्पु लुम्बिनी जेभी काठमाडौंँका प्रतिनिधि सूर्यप्रकाश शर्माका अनुसार काम तीव्र गतिमा सञ्चालन भई अन्तिम चरणमा पुगेको छ ।
पुलबाट यातायात सञ्चालन हुने भएपछि धनुषा र सिराहाका बासिन्दा खुसी भएका छन् । कमला नगरपालिकाका नगरप्रमुख विशेश्वर यादवका अनुसार कमला पुल सञ्चालनमा आएपछि सप्तरी र सिराहाका बासिन्दा लाई मधेश प्रदेशको राजधानी जनकपुरधाम आउन सहज हुने छ भने धनुषाका बासिन्दालाई सप्तरीको राजविराज जान सहज हुने छ ।