पाकिस्तानको पेशावरमा एउटा निजी विद्यालयको छाना भत्किँदा ३४ जनाको मृत्यु भएको छ। मृत्यु हनेमा एक शिक्षक र ३३ जना विद्यार्थी रहेको लेडी रेडिङ अस्पतालले पुष्टि गरेको छ।
प्रहरीले उक्त विद्यालयका सञ्चालकलाई पक्राउ गरिएको जनाएको छ। उक्त निजी विद्यालय शैक्षिक गुठीका रूपमा सञ्चालित हुँदै आएको बताइएको छ।
दिर कोलोनीस्थित अल–खैर विद्यालयमा स्थानीय समयानुसार बिहीबार बिहान ८ः४८ बजे उक्त घटना भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्। अधिकांश बालबालिकाहरू ६ देखि १२ वर्ष उमेर समूहका छन्।
विद्यालय साँघुरो बाटोमा रहेको हुनाले र त्यहाँ एक पटकमा एउटा मात्र सवारीसाधन जान सक्ने भएकाले उद्धारकर्ता र एम्बुलेन्सलाई आवतजावत गर्न कठिनाइ भएको बीबीसीले जनाएको छ।
पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीको कार्यालयले एउटा विज्ञप्ति जारी गर्दै हृदयविदारक घटनाले सिङ्गो राष्ट्रलाई स्तब्ध बनाएको जनाएको छ।
प्रारम्भिक अनुसन्धानमा विद्यालय भवनको संरचना कमजोर रहेको खुलेको छ।