पर्सा । गहवामाई मन्दिरपरिसरमा घटस्थापनादेखि ठुलो सङ्ख्यामा भक्तजनको घुइँचो लागेको छ । सो मन्दिरमा घटस्थापनादेखि अष्टमीसम्म भक्तजनको घुइँचो लाग्ने गर्छ । माईस्थान मन्दिर गहवामाई व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र शाहले पर्सा, बारा, रौतहट सर्लाही महोत्तरी मात्र नभई मधेश प्रदेशलगायतका भारतीय सीमावर्ती क्षेत्रबाट ठुलो सङ्ख्यामा भक्तजन आउने गरेको बताउनुभयो ।
उहाँले गहवामाईलाई भाकलस्वरूप बलि चढाउने जानकारी दिनुभयो । शाहका अनुसार प्रत्येक वर्ष महाअष्टमीका दिन लगभग चार हजारको हाराहारीमा पशु बलि चढाउने परम्परा रहेको छ । यस्तै महिलाले मनोकामना पूरा भएपछि अथवा परिवारको सुख, समृद्धि, परिवारको दिर्घायु, सन्तान प्राप्तिका लागि घरमा पकाएका शुद्ध परिकार र फलफूल राखेर ‘खोइच’ भर्ने परम्परा पनि रहेको छ ।
फूलपातीका दिन नेपाली सेना, जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, सशस्त्र प्रहरी बल पर्सा र मालपोत कार्यालय पर्साले फूलपाती बढाइँ गरी पूजा गरेपछि गहवामाईलाई सलामी अर्पण गरी कुभिन्डो र बोकाको बलि दिइन्छ । गहवामाई मन्दिरपरिसरमा भक्तजनको ठुलो घुइँचो लाग्ने गरेकाले जिल्ला प्रहरी कार्यालय पर्साले सहजताका लागि प्रहरी परिचालन गरेको छ ।