पर्सा । वीरगञ्ज महानगरपालिका–२७, पर्साको कुहडी टोलमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। प्रगतिशील दलित कृषक समूह वीरगञ्ज–२७ को आयोजना तथा डिजिम नेपालको सहयोगमा सञ्चालित तालिमको उद्घाटन वडाध्यक्ष हृदयनारायण प्रसाद कुर्मीले गर्नुभएको हो।
समूहका अध्यक्ष प्रभु पासवानको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामाजिक अगुवा, राजनीतिक दलका प्रतिनिधि तथा तालिमसँग सम्बन्धित व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा साना किसान ऋण सहकारी संस्था, उदयपुर घुर्मीका अध्यक्ष वीरेन्द्र कर्ण, नेकपा एमालेका नेता मनोज कुशवाहा, स्थानीय समाजसेवी रामनरेश यादव, शम्भु पासवान, समूहका सचिव राजकेश्वर पासवान, सदस्य रमेश हजरा र जयराम पासवान, वडा सदस्य प्रमोद कुशवाहा, तालिमकी प्रशिक्षक इन्दु कुमारी कर्ण तथा संस्थाका सहयोगी बृजलाल पासवानलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा वक्ताहरूले दुनाटपरी निर्माणसम्बन्धी सीपले स्थानीयस्तरमा उद्यमशीलता विकास गर्न तथा आयआर्जनका अवसर सिर्जना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।
तालिमकी प्रशिक्षक इन्दु कर्णका अनुसार तालिम लगातार १५ दिनसम्म सञ्चालन हुनेछ। तालिममा २७ जना सहभागी रहनेछन्। तालिममार्फत सहभागीहरूलाई दुनाटपरी निर्माणसम्बन्धी सीप प्रदान गरी स्वरोजगार तथा उद्यमशीलतातर्फ प्रेरित गर्ने लक्ष्य राखिएको छ।