सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन यादव पक्राउ पर्नुभएको छ ।
गाउँसभा सम्पन्न गरेको माइन्यूटमा किर्ते हस्ताक्षर गरेको आरोपमा अध्यक्ष यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् डिएसपी वेदप्रसाद गौतमले गोरखापत्र अनलाइनसँग बताउनुभयो । उहाँले भन्नुभयो, “किर्तेको उजुरीपछि अध्यक्ष ज्यूलाई पक्राउ गरेका हौँ । जिल्लामा ल्याएर यसबारेमा उहाँसँग थप सोधखोज गर्दै छौँ ।”
डिएसपी गौतमका अनुसार गाउँपालिका अध्यक्ष यादवलाई मङ्गलबार साँझ बसबरियाबाटै पक्राउ गरिएको हो । बसबरियामा गाउँसभाबाट बजेट पारित गर्ने विषयमा लामो समयदेखि विवाद चल्दै आएको छ ।
गाउँपालिका अध्यक्ष यादवले भने सर्वसम्मत रुपमा बजेट पारित गरिएको बताउँदै आउनुभएको थियो ।