पर्सा । साधारण परिवारमा जन्मिएर बाल्यकालमा आमाबुबासँग अर्काको खेतमा मजदुरी गर्दै जीवन संघर्ष गरेका विनोद मेहता अहिले जन्मभूमि पकाहाँमैनपुर गाउँपालिकाको विकास र नेतृत्वका लागि अघि बढ्ने तयारीमा छन्। विद्यार्थी आन्दोलन, शिक्षण सेवा, विद्यालय सुधार, सामाजिक गतिविधि तथा साहित्यिक क्षेत्रमा लामो समयदेखि सक्रिय मेहता गाउँपालिका अध्यक्षको जिम्मेवारी सम्हाल्ने आकांक्षा व्यक्त गरिरहेका छन्।
पर्साको तत्कालीन धोरे गाउँ विकास समितिमा पिता सुरज मेहता कोइरी र माता मन्तुरा देवीको परिवारमा जन्मिएका मेहता पाँच दिदीबहिनीमध्ये एक्ला छोरा हुन्। बाल्यकालमा धान रोप्ने, गोडमेल गर्ने, माटो र मल ओसार्ने काम गर्दै उनले संघर्षपूर्ण जीवन बिताएका थिए। आर्थिक कठिनाइबीच पनि अध्ययनलाई निरन्तरता दिएका उनी विद्यालय जीवनदेखि नै उत्कृष्ट विद्यार्थीका रूपमा परिचित थिए।
विद्यार्थी राजनीतिदेखि शिक्षण सेवासम्म
२०५४ सालदेखि नेपाल विद्यार्थी संघको पर्सा जिल्ला सचिवको जिम्मेवारी निर्वाह गरेका मेहताले २०५६ सालको जनआन्दोलनमा समेत नेतृत्वदायी भूमिका खेलेका थिए। पारिवारिक तथा आर्थिक परिस्थितिका कारण २०५८ सालमा शिक्षण पेशामा प्रवेश गरेका उनी जिल्ला शिक्षक छनोट समितिको नतिजाअनुसार १६० जना छनोट भएका शिक्षकहरूमध्ये प्रथम स्थानमा रहेका थिए।
विद्यालय सुधारमा उल्लेखनीय योगदान
वीरगञ्जस्थित माइस्थान विद्यापीठ माध्यमिक विद्यालयमा कार्यरत रहँदा मेहताले २०७२ सालमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गराएका थिए। उनको पहलपछि निजी विद्यालयमा अध्ययनरत विद्यार्थीसमेत उक्त विद्यालयतर्फ आकर्षित भएका थिए। कक्षा १० मा ५२७ जना विद्यार्थीलाई एसएलसी परीक्षामा सहभागी गराएको उनको कार्यकाल शैक्षिक सुधारका प्रयासका रूपमा उल्लेख गरिएको छ।
२०६८ सालमा एसएलसी परीक्षा व्यवस्थित रूपमा सञ्चालन गराएको भन्दै उत्कृष्ट परीक्षा केन्द्राध्यक्षको सम्मानसमेत प्राप्त गरेका मेहताले व्यक्तिगत रूपमा १० हजार रुपैयाँ र विद्यालयका लागि ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए।
नरसिंह माध्यमिक विद्यालय तथा शारदा माध्यमिक विद्यालय, सुगौली बहुअर्वामा समेत शैक्षिक र व्यवस्थापकीय सुधारमा नेतृत्वदायी भूमिका निर्वाह गरेका उनी हाल वीरगञ्ज चिनी कारखानास्थित श्री सिद्धार्थ माध्यमिक विद्यालयका प्रधानाध्यापकका रूपमा कार्यरत छन्।
शैक्षिक सम्मान र सामाजिक सक्रियता
शिक्षण क्षेत्रमा योगदानका लागि सरकारी स्तरबाट उत्कृष्ट माध्यमिक शिक्षकको प्रमाणपत्र प्राप्त गरेका मेहता Principals Association of Nepal (PAN) को २०८० सालको राष्ट्रिय सम्मेलनमा उत्कृष्ट प्रधानाध्यापकका रूपमा सम्मानित भएका थिए। हाल PAN पर्सा जिल्ला अध्यक्षका रूपमा प्रधानाध्यापकहरूको क्षमता विकास र विद्यालय सुधारका गतिविधिमा सक्रिय छन्।
नेपाल रेडक्रस सोसाइटीमा स्थानीय उपशाखा सभापति तथा पर्सा जिल्ला शाखाको दुई कार्यकाल उपसभापति बनेर सामाजिक सेवामा योगदान दिएका मेहता एमनेस्टी इन्टरनेसनल, नेपाल स्काउट तथा खेलकुद विकासका गतिविधिमा पनि संलग्न रहँदै आएका छन्।
भोजपुरी भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा समेत उनको योगदान रहेको छ। नेपाल भोजपुरी साहित्य संघको राष्ट्रिय समूह महासचिवको जिम्मेवारी निर्वाह गरेका उनले कविता तथा गीतमार्फत सामाजिक चेतना, देशभक्ति र जनजीवनका विषयलाई अभिव्यक्त गर्दै आएका छन्।
पकाहाँमैनपुरका लागि पाँचवर्षे विकास योजना बनाउने तयारी
गाउँपालिकाका स्थानीय समस्या, सम्भावना र विकासका अवरोध पहिचान गरी पाँचवर्षे विकास मार्गचित्र तथा घोषणापत्र तयार गर्ने तयारीमा मेहता जुटेका छन्। शिक्षा क्षेत्रको सुधार, सामुदायिक विद्यालयको गुणस्तर वृद्धि, शिक्षकको क्षमता विकास, भौतिक पूर्वाधार निर्माण तथा विद्यार्थीको सिकाइ उपलब्धिमा सुधारलाई उनले प्राथमिकतामा राखेका छन्।
शिक्षण पेशामा करिब पाँच वर्ष सेवा अवधि बाँकी रहँदै जन्मभूमिको सेवामा समर्पित हुने आकांक्षा व्यक्त गरेका मेहताले गाउँपालिका अध्यक्षको उम्मेदवारीका लागि आवश्यक परे सुरक्षित पेशा त्याग्नसमेत तयार रहेको बताएका छन्।
“पद प्राप्त गर्नुभन्दा पहिले जिम्मेवारी बुझ्ने, आश्वासन दिनुभन्दा पहिले योजना बनाउने र नेतृत्व गर्नुभन्दा पहिले जनताको कुरा सुन्ने।”
संघर्षबाट सुरु भएको जीवनयात्रा, शिक्षण अनुभव, सामाजिक सक्रियता र विकासको दृष्टिकोणलाई आधार बनाएर पकाहाँमैनपुरलाई समृद्ध, न्यायपूर्ण र हराभरा बनाउने संकल्प मेहताले अघि सारेका छन्। उनको राजनीतिक यात्रा र विकासको प्रतिबद्धताको अन्तिम निर्णय भने स्थानीय मतदाताको हातमा हुनेछ।