वीरगञ्ज । पर्सामा तस्करी नियन्त्रण र शान्तिसुरक्षा कायम गर्न सक्रिय भूमिका निर्वाह गर्दै आएका प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रबहादुर मल्लले हालै ज्योती दैनिक पत्रिकामा प्रकाशित "एसपी विदामा हुदा डिएसपीको मनोमानी" भन्ने समाचारप्रति गम्भीर आपत्ति जनाएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्सामा अपराध अनुसन्धान र अवैध चोरीपैठारी नियन्त्रणमा उल्लेखनीय तथा प्रशंसनीय काम गर्दै आएका डिएसपी मल्लले एसपी बिदामा रहेको समयमा कार्यालयको नेतृत्व सम्हालेको भनी आएको समाचार सत्य नभएको प्रस्ट पारेका हुन्।
डिएसपी मल्लले एसपी भट्टराई बिदामा रहेको अवधिमा जिल्ला प्रहरी कार्यालयको जिम्मेवारी वरिष्ठता आधारमा आफुले नसम्हालेको उल्लेख छ । आफू जिल्ला प्रहरी कार्यालय पर्साको प्रवक्ता (सूचना अधिकारी) को भूमिकामा मात्र रहेको र एसपी बिदामा गएको समयमा कार्यालय प्रमुख (इन्चार्ज) को जिम्मेवारीमा नरहेको र कार्यालयबाट तस्कर तथा मोटरसाइकल बेपत्ता पारिएको भनिएको घटनामा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट गरेका छन्।
इमानदारिताका साथ आफ्नो कर्तव्य निर्वाह गरिरहेको अवस्थामा उक्त घटनासँग अनावश्यक रूपमा आफ्नो नाम जोडेर समाचार प्रकाशित गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्।
सुरक्षा व्यवस्था सुदृढ बनाउन र तस्करी निरुत्साहित गर्न अहोरात्र खटिँदै आएका अधिकृतको मनोबल गिराउने गरी समाचार सम्प्रेषण हुनु दुःखद रहेको उल्लेख गर्दै डिएसपी मल्लले बुझेर तथ्यमा आधारित भएर मात्र समाचार प्रकाशन गर्न आग्रह गरेका छन्।