वीरगञ्ज, २४ मंसिर : जनकपुर विमानस्थलमा निर्मित नया टर्मिनल भवनको हिजो उद्घाटन भएको छ । ५० करोड रुपियाँको लागतमा निर्मित टर्मिनल भवनको सङ्घीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उद्घाटन गर्नु भएको हो । कार्यक्रममा मन्त्री भट्टराईले सङ्घीय सरकार र प्रदेश २ सरकारबीच घनिष्ठ सम्बन्ध रहेको भन्दै प्रदेश २ को विकासका सबै पक्षमा सङ्घीय सरकार लागिपरेको बताए ।
मन्त्री भट्टराइले सीमा क्षेत्र विकास कार्यक्रम, हुलाकी सडक निर्माण, ऐतिहासिक जनकपुर–जयनगर रेलवे सञ्चालन तथा विस्तार, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र काठमाडौं निजगढ द्रुतमार्ग निर्माणलाई वर्तमान सरकारले मुख्य प्राथमिकताका साथ अगाडि बढाएको चर्चा गर्दै उक्त राष्ट्रिय गौरवका योजनाहरूले प्रदेश २ को कायापलट हुने बताए ।
सङ्घ र प्रदेश २ बीच फाटो देखाएर निहित स्वार्थ पूरा गर्न चाहनेहरूको जवाफ विकास निर्माणले नै दिने भन्दै उनले सङ्घीयता कार्यान्वयनको चरणमा मुलुक रहेकाले कतिपय असमझदारीहरू पनि आउन सक्ने भन्दै त्यसलाई सच्याएर समझदारीका साथ अगाडि बढ्नुपर्ने विचार व्यक्त गरे ।
सो टर्मिनल भवन बनाउन शुरूमा पप्पु कन्स्ट्रक्सनले ठेक्का सम्झौता गरेको थियो । पटक–पटक म्याद थप्दै उसले लामो समय बिताएर पनि काम पूरा नगरे पछि ठेक्का रद्द गरेर नयाँ प्रक्रियामा जाँदा धेरै समय लागेको हो ।
पछिल्लोपटक थेदिंग जालवा उमा कम्पनी जेभी कन्स्ट्रक्सन संग नया सम्झौता गरी सङ्घीय मन्त्रालयबाट ताकेदा र अनुगमनमा जोड दिएपछि काम सम्पन्न भएको हो ।