वीरगन्ज ५ पुष : प्रधानमन्त्रीले संसद विघटन गरी मध्यावधि निर्वाचनमा गएको विरोधमा नेकपाका नेता, कार्यकर्ताहरुले वीरगंजको घण्टाघरमा विरोध गरेका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि दिनेश राईले प्रधानमन्त्री ओलीले आप्mनो पार्टीमाथि बन्चरो हानेको बताए । उनले प्रधानमन्त्रिको कदमले पार्टी अपांग बनेको टिप्पणी गरे । जनताले दिएको दुई तिहाइ बहुमतको सरकार प्रधानमन्त्री ओलीलाई नपचेको र प्रधानमन्त्री बौलाएको बताए । जिल्ला सचिव विजय महतोको सभापतित्वमा भएको विरोध कार्यक्रममा प्रदेश सदस्य शम्भु गुप्ता, रामबाबू बैठा, छोटेलाल यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन जिल्ला सदस्य मनोज चौधरीले गरेका थिए ।


यसैगरी बारामा प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै नेता कार्यकर्ताहरुले कलैयामा प्रदर्शन गरे । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद विघटन गरेपछि त्यसको विरोधमा प्रदर्शन गरेका हुन् । उनीहरुले संविधान विपरित संसद विघटन भएको भन्दै देशका विभिन्न स्थानमा नेकपाका नेता कार्यकर्ताहरुले विरोध गरेका थिए । कलैयामा नेकपा जिल्ला कमिटी सदस्य ध्रुव यादव सहितका नेता कार्यकर्ताहरुले टायर बालेर नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । संसद विघटन खारेज गर, असंवैधानिक कदम फिर्ता गर लगायतका नारा लगाउँदै उनीहरुले विरोध प्रदर्शन गरेका थिए ।