वीरगन्ज २ माघ : पिस फर दलित फाउन्डेशन नेपाल प्रदेश २ को आयोजनामा पर्सा जिल्लाको सखुवाप्रसौनी गाउपालिका–१ मधुवन मथवलमा दलितहरुको भेला सम्पन्न भएर दबाब समूह गठन गरेको फाउन्डेशनका अध्यक्ष मनोज रामले बताए । उनले दलित समुदायमाथि भइरहेको हिंसा, हत्या, विभेदविरुद्ध आवाज उठाउन समूह गठन गरेको बताए । अध्यक्ष रामले दलितमाथि जातीय विभेद, छुवाछुत, सामाजिक विभेद, दमन–शोषण, असमानता, अन्याय, अत्याचार कायमै रहेको र गैरदलितले दलितलाई अहिलेसम्म मानव श्रेणीमा राखेर व्यवहार नगरेको बताए । उनले स्थानीय तह अन्तर्गतको गापा, वडा पालिकाले पनि दलित हकहित अधिकारको लागि खासै कुनै काम नगरेको बताए । गापाको बजेट, नीति तथा कार्यक्रममा दलित सवाल अधिकारलाई समावेश नगरिएको, दलित समुदायको समस्या, दलित अधिकारकोलागि सङ्घर्ष गर्न आवश्यक भएकोले समिति गठन गरिएको बताए । सखुवाप्रसौनी गापाको ६ वटा वडामा समूह गठन गरिने उनले बताए । १३ सदस्यीय कमिटी रामस्वरुप पासवानको संयोजकत्वमा गठन भएको र सदस्यहरुमा गौरीदेवी मुशहर, शिवराज राम, हर्कबहादुर दमाई, बालकुमार दमाई, पचियादेवी पासवान, सुरेन्द्र राम, तारा देवी, माइली विक, लीला विकलगायत छन् । भेलामा दलित युवा नेतृत्व अभियानका संयोजक सुरेन्द्र पासवान, पिस फर दलित फाउन्डेशन नेपालका सदस्य संयोग राम, सल्लाहकार अशोक रामलगायतको सहभागिता रहेको अध्यक्ष रामले बताए ।

