

वीरगञ्ज । वीरगञ्जमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । छुट्टाछुट्टै स्थानमा भएको घटनामा ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने दुई जनाको मृत्यु भएको हो ।धोविनी गाउँपालिका वडा नं ३ हरिहरपुर बस्ने ३० वर्षीय सैफुल्लाह अन्सारी र वीरगञ्ज महानगरपालिका–९ रानिघाट बस्ने ६० वर्षीय ध्रुव प्रसाद साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।सोमबार साँझ साढे ६ बजे वीरगञ्ज–२६ बस्ने रामकिशोर प्रसाद कुर्मीको घरमा प्लास्टर गर्ने सैफुल्लालाई करेन्ट लागेको थियो । प्लाष्टर गर्ने क्रममा विद्युतको नांगो तारमा अचानक उनले छुन पुगेका थिए ।सोमबार दिउँसो १२ः२५ बजे वीरगञ्ज–८ स्थित शत्रुधन सर्राफको घरको छाना सफा गर्ने क्रममा ज्यालादारीमा काम गर्ने ध्रुवलाई करेन्ट लागेको थियो । करेन्ट लागेर भुईंमा पछारिएका उनलाई तत्कालै उपचारको लागि नजिकैको आशाराम अस्पतालमा पठाइएको थियो । अस्पतालका चिकित्सक डाक्टर अशोक दासका अनुसार अस्पताल आइपुग्दा उनको मृत्यु भइसकेको थियो ।घटनास्थल तथा लास जाँच प्रकृती मुचुल्का तयार गरी दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।