

वीरगन्ज १७ माघ : तराईका जिल्लामा आज पनि बाक्लो हुस्सु र कुहिरो लागेको छ । मौसमविद्काअनुसार तराईका जिल्लामा अबको दुई हप्तासम्म पनि बाक्लो हुस्सु र कुहिरो लाग्ने अनुमान छ । आज प्रदेश १ र गण्डकी प्रदेशका केही हिमाली जिल्लामा हिमपातको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँकाअनुसार अन्य क्षेत्रको मौसम आंशिक बद्ली हुने अनुमान छ । आज काठमाण्डौको न्यूनतम तापक्रम दुई दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ । अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्न सक्ने मौसमविद्को अनुमान छ । यता पर्सा, बारा लगायत मध्य तराईका जिल्लाहरूमा मगलबार बिहानै देखि घाम नलागेका कारण चिसो बढेर जनजीवन प्रभावित भएको छ । तराईका जिल्लाहरुमा अत्यधिक रुपमा बढेको शीतलहर र हुस्सुका कारण जनजीवन कष्टकर बनेको छ । चिसो र शीतलहरले मान्छेहरु बाहिर हिँडडुल गर्न सकेका छैनन् । चिसो बढ्दै जाँदा वृद्धवृद्धा, सुत्केरी महिला र ससाना नानीहरुको स्याहारसम्भार कठिन भएको छ । घरमा पोषणयुक्त ताजा खाना, न्यानो लुगा र घर ओरपर सरसफाइमा कमी हुँदा पराले झुप्राका बस्ती बढ्दो जाडोले बढी प्रभावित भएका देखिन्छन् । अहिले जिल्लाका स्वास्थ्य संस्थाले धमाधम सूचना प्रसारण गराएर चिसोमा आफ्नो घरपरिवारको स्याहार सम्भारमा ध्यान दिन आग्रह गरेका छन् ।