वीरगन्ज । “मेयर घरदैलो स्वास्थ्य कार्यक्रम“ मा वीरगन्ज महानगरपालिका वडा नम्बर १८ का १ हजार ६ सय ४७ जनाले स्वास्थ्य परिक्षण गराई सेवा लिएका छन् ।
भवानीपुर इनर्वा, सुखचैना र सौराहा गाउँ रहेको वडा नम्बर १८ मा साेमबार सम्पन्न कार्यक्रममा ९ सय ४७ महिला सहित १ हजार ६ सय ४७ जनाले स्वास्थ्य परिक्षण गराएका हुन ।
महानगरपालिकाले नगरवासीको घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने उदेश्यले सञ्चालन गरेको कार्यक्रमको चौथो क्याम्प असाेज २४ गतेदेखि ३१ गतेसम्म वडा नम्बर १८ मा संचालन गरेका थिए । साे स्वास्थ्य कार्यक्रममा २७ जनाले युएसजी र ३ सय १ जनाले रक्त परिक्षण गराएका हुन । बिरामीको अवस्था हेरेर मोबाइल ल्याब बाट तत्कालै रगत परिक्षण गराइ स्वास्थ्य समस्या अनुसार नि:शुल्क औषधी समेत वितरण भएकाे अभियानमा सहभागी डाक्टर सागर गुप्ताले राताेपानलाई बताए।स्थानीय तहको निर्वाचनका बेला मेयर राजशेमान सिंहले गरेको चुनावी प्रतिबद्धता अनुसार , “मेयर घरदैलो स्वास्थ्य कार्यक्रम“ शुरु गरी निरन्तर जारी राखेको मेयर सिँहले बताएका छन् ।
घरदैलोमै सबै खालका चेकजाँच हुने गरी स्वास्थ्य सेवा पुगेपछि सदरमुकाम धाइरहने अवस्था हटेकोले स्वास्थ्य चेकजाँच गराउन आउने सेवाग्राहीको भीडभाड लाग्ने गरेको मेयर घरदैलो स्वास्थ्य कार्यक्रमका संयाेजक अमित अग्रवालले बताए ।
खासगरी वृद्धवृद्धा , गर्भवती महिला तथा अन्य स्वास्थ्य समस्या भएका महिलाहरुका लागि सहज वातावरण रहेकोले महिलाहरू निर्धक्क रुपले उल्लेखनीय सहभागीता सहित कार्यक्रम स्थलमा चेकजाँच गराउन आउने गरेको डाक्टर जिन्नतुन नेशाले बताईन् ।