आरोहण शाह
वीरगञ्ज २३ माघ :भन्सार छलेर भारतबाट न्यानो कपडाको तस्करी हुन थालेको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा रहेको क्राइम टोलीले तस्करीको महिनावारी बुझी तस्करीमा नयाँ कृतिमान कायम गर्ने गरी तस्करीको लागि ग्रामिण क्षेत्रबाट लाइन क्लिएर गरिदिएको समाचार प्राप्त हुन आएको छ । क्राइम टोलीकै संरक्षणमा रातभरी भिष्वा, जानकीटोला, प्रसैनी, धोरे, अलौ क्षेत्रबाट तस्करी भईरहेको छ । मरिच तथा केराउ र कपडाको तस्करी सानो र ठूलो परिमाणमा हुने गरेको छ ।
खुल्ला सीमाको फाइदा उठाउदै बढी नाफा कमाउने उद्देश्यले क्राइमको सेटिङमा तस्करी हुँदै आइरहेको छ । क्राइम टोलीले तस्करीको स्वरुप नै परिवर्तन गरी तस्करीको लाइन दिएका छन्् । विशेष गरी भिष्वा, जानकीटोला, प्रसैनी, धोरे, अलौँको बाटो हुँदै रातीको ९ बजे देखी बिहानको ४ बजे सम्म मोटरसाईकलबाट तस्करी भइरहेको नाम नबताउने शर्तमा एक तस्करले बताए । तस्करीका लागि भारतसँग सीमा जोडिएका इनर्वा, छपकैया, भकुवा, पिपरपाती, भिष्वा, जानकीटोला, अमरपट्टी, धोरे, अलौँ, र वीरगञ्ज भन्सारकै मुख्य गेटलगायतका नाका प्रयोग गर्न थालेका छन् ।