वीरगञ्ज । अस्पतालमा भएको नाबालिका करणी मुद्धा फितलो बनाउने षड्यन्त्रमा वीरगञ्जको स्पर्श अस्पतालका सञ्चालक लागेका छन् ।
फितलो व्यवस्थापनका कारण अस्पतालको शौचालयमा नाबालिका बलात्कृत हुन पुगेको घटना बाहिरिएपछि अस्पताल संचालक त्यसलाई ढाकछोप गर्न विभिन्न प्रपञ्च रच्न थालेका हुन् ।
अस्पतालमा उपचारमा आएका बिरामीको कुरुवा बसेकी नाबालिका गएको असोज २३ गते अस्पतालको शौचालयमा बलात्कृत हुन पुगेकी थिइन् ।
अस्पतालमै कार्यरत एक जना कर्मचारीले नाबालिका बलात्कार गरेको प्रहरीले जनाएको छ । नाबालिका बलात्कार गरेको भन्दै उनका परिवारले कात्तिक ८ गते जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएको र त्यही दिन आरोपिलाई पक्राउ गरिएको पर्साका प्रहरी नायव उपरीक्षक दीपक गिरी बताउँछन् ।
पक्राउ पर्नेमा अस्पतालमा सफाइ कर्मचारी बाराको परवानीपुर गाउँपालिका–२ मुसहर टोलका २३ वर्षीय आकाश मण्डल हुन् । घटनाका बारेमा शनिबार सञ्चारमाध्यममा सार्वजनिक भएपछि अस्पताल सञ्चालक नाबालिका बलात्कार जस्तो जघन्य मुद्धालाई फितलो बनाउन लागि परेका हुन् ।
अस्पताल सञ्चालकले आइतबार विज्ञप्ति जारी गर्दै अस्पतालमा उपचार गराएको पैसा नदिनका लागि नाबालिका बलात्कारको उजुरी उनका अभिभावकले प्रहरीमा गरेको भन्दै गैरजिम्मेवार र लज्जाष्पद प्रतिकृया दिएको छ ।
विज्ञप्तीमा भनिएको छ ‘पैसा बुझाउन पटक पटक समय दिएर पनि पैसा नबुझाई उल्टै अस्पताललाई बदनाम गर्नका लागि विरामी बहिनीलाई प्रयोग गरि अस्पतालका कर्मचारीले बलात्कार गरेको भनेर प्रहरीमा जाहेरी दिन लगाइयो ।’
नाबालिका बलात्कार जस्तो जघन्य अपराधमा प्रहरीले अस्पतालमा कार्यरत कर्मचारीलाई पक्राउ गरि अनुसन्धान प्रकृया अघि बढाएकै बखत अस्पतालले भने बलात्कार नै नभएको बरु उल्टै पैसा तिर्न बाट उम्किन यस्तो आरोप लगाएको भन्ने आशयले विज्ञप्ती जारी गर्नुले नाबालिका बलात्कार मुद्धालाई अस्पतालले खेलाची ठानेको देखिएको छ ।
नाबालिका बलात्कार जस्तो जघन्य मुद्धामा आफू उम्किन अस्पतालले जारी गरेको विज्ञप्तीले घटनाको अनुसन्धान गरिरहेको प्रहरीलाई प्रभावित गर्न खोजेको देखिन्छ । यसले पीडित आफू उम्किन अस्पतालले पीडित परिवारलाई झन पीडा थप्ने काम गरेको छ ।